२०८३ बैशाख ३ गते बिहिवार

भूमेमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु



रुकुमपूर्व । देशभर सुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत रुकुमपूर्वको भूमे गाउँपालिकाले मंगलबारदेखि विविध जनचेतनामूलक कार्यक्रमको थालनी गरेको छ। हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने अभियानलाई भूमे गाउँपालिकाले यस वर्ष पनि उत्साहपूर्वक अघि बढाएको छ।

मंगलबार बिहान गाउँपालिकाको केन्द्रमा विभिन्न नारासहितको प्लेकार्ड बोकेर विद्यार्थी र जनप्रतिनिधिले बजार परिक्रमा, र्‍याली र कोणसभा सम्पन्न गरेका हुन् । विद्यालयको सहभागिता र जनप्रतिनिधिको सक्रिय उपस्थितिले कार्यक्रम विशेष उत्साहपूर्ण बनेको आयोजकले जनाएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले लैंगिक हिंसा अन्त्यका लागि स्थानीय तहबाटै निरन्तर पहल आवश्यक रहेको बताउनुभयो। “हिंसा सहने होइन, रोक्ने हो भन्ने सन्देश घर–घरमा पुर्‍याउनु आजको मुख्य चुनौती हो। समाजमा रहेको असमानता हटाउन नागरिकको सक्रिय भूमिका अपरिहार्य छ,” अध्यक्ष श्रेष्ठले भन्नुभयाे।

उपाध्यक्ष सबिना बुढामगरले अभियानलाई व्यवहारमै लागू गर्न सबै तहको प्रतिबद्धता जरुरी हुने बताउनुभयो। “महिला वा बालिकामात्र होइन, लैंगिक हिंसा समाजकै साझा समस्या हो। सुरक्षित र समावेशी समाज निर्माणका लागि शिक्षा, चेतना र कानुनी पहुँच विस्तारमा गाउँपालिका निरन्तर लागिरहेको छ,” उपाध्यक्ष बुढामगरले बताउनुभयो।

गाउँपालिकाले आगामी दिनमा विद्यालय–स्तरका अन्तरक्रिया, महिला समूहहरूसँग छलफल, कानुनी सचेतना कार्यक्रमलगायतका गतिविधि संचालन गर्दै अभियानलाई थप प्रभावकारी बनाउने जनाएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर ९ गते मङ्गलवार