२०८३ साउन १३ गते बुधवार

५५ किमी मध्यपहाडी खण्डसहित रुकुमपूर्वका सडक वर्षेनी जोखिममा



मंसिर ५ / रुकुमपूर्व । मध्यपहाडी लोकमार्गमा नाली सफाइ नहुँदा र ग्रामीण क्षेत्रमा नयाँ सडक निर्माण गर्दा नाली नै नबनाइदा रुकुमपूर्वका अधिकांश सडक वर्षेनी जोखिमपूर्ण बन्दै आएका छन् । पानी निकास नहुँदा वर्षा सुरु हुनेबित्तिकै सडक भत्किने, हिलाम्ये बन्ने र यातायात अवरुद्ध हुने समस्या दोहोरिन्छ ।
स्थानीयका अनुसार वर्षौंदेखि थुनिएका नाली सफाइ नहुनु सडक बिग्रनुको मुख्य कारण हो । पानी सिधै सडकमै बग्ने भएकाले सतह चिरिने, खाल्डाखुल्डी बढ्ने र यात्रा जोखिमपूर्ण बन्ने गरेको छ । सिस्ने, पुथा उत्तरगंगा र भूमे गाउँपालिकाका ग्रामीण सडकमा पनि यही समस्या दोहोरिएको छ । नाली अभावका कारण हरेक वर्ष मर्मतमा लाखौँ रुपैयाँ खर्चिए पनि प्रभाव भने देखिएको छैन, स्थानीयवासीको गुनासो छ ।
उद्योग वाणिज्य संघ रुकुमपूर्वका अध्यक्ष केबेन्द्र गौतमले नयाँ सडक निर्माणमा नाली छुट्ने प्रवृत्ति अझै कायम रहेको बताए । “डोजर त पुग्छ, नाली बनाउने सोचचाहिँ पहुँच्दैन,” अध्यक्ष गौतमले भने । “मध्यपहाडीमा समेत नाली सफाइ नगर्दा समस्या ग्रामीण सडककै जस्तो बनिरहेको छ ।”
बुद्धिजीवीहरूका अनुसार नाली सफाइ र नाली निर्माण नसमेट्ने गैरजिम्मेवार योजनाका कारण सार्वजनिक धन वर्षेनी मर्मतकै नाममा दोहोरिदो खर्च भएको छ । नाली व्यवस्थापनलाई प्राथमिकता नदिएकै कारण रुकुमपूर्वका सडक वर्षेनी जोखिमपूर्ण बन्दै जाने देखिएको छ ।
रुकुमपूर्वमा करिब ५५ किलोमिटर मध्यपहाडी लोकमार्ग पर्छ । तर यो खण्डमा वर्षौँदेखि नाली सफाइ नहुनु र ग्रामीण सडक निर्माणमा नाली नै नबनाइदा जिल्लाका अधिकांश सडक वर्षेनी जोखिमपूर्ण बन्दै आएका छन् ।

प्रकाशित मिति : २०८२ मङ्सिर १० गते बुधवार