रुकुमपूर्वमा चार वर्षअघि सुरु भएका दुई विद्युत् सवस्टेसनको निर्माण कार्य अहिले पनि अलपत्र अवस्थामा छ। युरोपियन इन्भेस्टमेन्ट बैंकको ऋण सहयोगमा भूमे गाउँपालिकाको वडा – २ काँक्री र सिस्ने गाउँपालिकाको वडा – ५ स्थित रुवाबाङमा ३३/११ केभी क्षमताका सवस्टेसन निर्माण कार्य थालिएको थियो ।
काँक्री सवस्टेसनमा हाल पर्खाल मात्र बनेको छ । ठेकेदारले २०७९ माघमा काम सुरु गरी ०८१ माघभित्र सम्पन्न गर्ने जिम्मा लिएका थिए, तर काम रोकिएको छ। सिस्ने रुवाबाङको सवस्टेसन पनि उस्तै अवस्थामा छ।
काँक्री सवस्टेसनका लागि इथोस इन्डिया, र रुवाबाङका लागि सालासार इन्डियाले ठेक्का पाएका हुन्। नेपाल विद्युत् प्राधिकरणका मेनेजर मेघनाथ ढकालका अनुसार प्राविधिक समस्या र विदेशी सामग्री खरिद प्रक्रियाले ढिलाइ भएको बताएका छन् । तर अब काम पुनः गति लिने र काम भई रहेको ढकालले बताए ।
भूमे गाउँपालिका –२ का वडाध्यक्ष नारायण पुनमगरले ठेकेदारलाई काममा सहजीकरण गरिएको जानकारी दिनुभयो । सवस्टेशन निर्माण कामदार समेत खोजिदिएको पुनमगरले बताए । हिमाली जिल्ला रुकुमपूर्वमा सवस्टेसन नहुँदा विद्युत् अनियमितता झनै बढेको छ । प्राधिकरणका अनुसार यी सवस्टेसन निर्माण भए जिल्लामा विद्युत् आपूर्ति केही हदसम्म नियमित हुनेछ ।
प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार “ठेकेदारलाई काम गर्न सबै सहजीकरण गरिसकेका छौँ । ढिलाइ ठेकेदारको कमजोरी हो।” ठेकेदारलाई आउँदो असार मसान्तसम्म काम सक्ने निर्देशन दिएको उनले बताए ।
दुई सवस्टेसन निर्माण र वितरण लाइन, पोल जडानका लागि करिब ४० करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ । काँक्री र रुवाबाङस्थित दुई सवस्टेसन चार वर्षसम्म अलपत्र रहँदा जिल्लामा विद्युत् आपूर्ति अस्थिर छ । प्राविधिक समस्या र विदेशी सामग्री खरिद प्रक्रियाले ढिलाइ भए पनि प्राधिकरण र स्थानीय निकायको सहजीकरणपछि अब काम पुनः गति लिने तयारीमा छ। यी सवस्टेसन निर्माण भएपछि जिल्लामा विद्युत् अनियमितता कम हुने अपेक्षा गरिएको छ। ।











प्रतिक्रिया दिनुहोस्