२०८३ साउन १३ गते बुधवार

उपभोक्ता हितका लागि  भूमेको वडा १ र २ मा संयुक्त अनुगमन



रुकुमपूर्वको भूमे गाउँपालिका वडा नं. १ र २ अन्तर्गतका विभिन्न गाउँबस्तीहरूमा शनिबार बजार अनुगमन गरिएको छ । उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका उद्देश्यले गरिएको अनुगमनमा १८ वटा पसल अनुगमन गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी समिर गौतमको नेतृत्वमा भएको अनुगमन टोलीमा भूमे गाउँपालिका उपाध्यक्ष सविना बुढामगर, घरेलु तथा साना उद्योग कार्यालय रुकुमपूर्वका प्रमुख भोला प्रसाद शर्मा, नेपाल पत्रकार महासंघ रुकुमपूर्वका उपाध्यक्ष बालाराम शेर्पाली तथा जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो।

अनुगमनका क्रममा लुगुम र काक्रीँ क्षेत्रका पसलहरूबाट करिब २९ हजार रुपैयाँ बराबरका म्याद नाघेका उपभोग्य सामग्री बरामद गरिएको जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले जनाएको छ। बरामद गरिएको सामग्री नष्ट समेत गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार अनुगमन गरिएका धेरैजसो पसलहरू दर्ता प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेको पाइएको छ । साथै, कतिपय व्यवसायीहरूले कर नतिरेको तथा व्यवसाय नवीकरण नगरेको अवस्था पनि भेटिएको छ ।

भूमे गाउँपालिका उपाध्यक्ष सविना बुढामगरले उपभोक्ताको स्वास्थ्य र अधिकारको संरक्षण स्थानीय सरकारको प्रमुख दायित्व भएको बताउनुभएको छ । उहाँका अनुसार बजारमा बिक्री हुने खाद्य तथा उपभोग्य सामग्री सुरक्षित, गुणस्तरीय र “बजारमा पाइने सामानले प्रत्यक्ष रूपमा नागरिकको स्वास्थ्यसँग सरोकार राख्छ । म्याद नाघेका, गुणस्तरहीन वा अवैध रूपमा भित्रिएका सामग्री बिक्री हुनु गम्भीर विषय हो,” उहाँले भन्नुभयो, “त्यसैले उपभोक्ताको हित सुनिश्चित गर्न संयुक्त रूपमा बजार अनुगमन गरिएको उपाध्यक्ष बुढाले बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी समिर गौतमले उपभोक्ता संरक्षण ऐन र प्रचलित कानुनको कार्यान्वयनका लागि बजार अनुगमन अनिवार्य भएको बताउनुभएको छ। उहाँका अनुसार स्थानीय बजारमा देखिएको अव्यवस्था, म्याद नाघेका तथा गुणस्तरहीन सामग्रीको बिक्री रोक्न प्रशासन सक्रिय रूपमा लागिरहेको छ । “बजारमा बिक्री हुने खाद्य तथा उपभोग्य सामग्रीले नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पार्छ । त्यसैले उपभोक्ता हितलाई केन्द्रमा राखेर वडा नं. १ र २ का विभिन्न बस्तीहरूमा संयुक्त रूपमा बजार अनुगमन गरिएको हो,” उहाँले भन्नुभयो । “यी सबै विषय कानुन विपरीत हुन्। प्रारम्भिक चरणमा सुधारका लागि निर्देशन दिइएको छ,” तर निर्देशनको पालना नगरेमा प्रचलित कानुनअनुसार कारबाही गरिन्छ,” उहाँले भूमे साप्ताहिकका सम्पादकसंग कुरा गर्दैँ   स्थानीय सरकार, उद्योग कार्यालय र सरोकारवाला निकायसँग समन्वय गर्दै आगामी दिनमा पनि नियमित बजार अनुगमनलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

त्यसैगरी घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख भोला प्रसाद शर्माले व्यवसाय दर्ता, नवीकरण र कर प्रणालीमा आबद्ध हुन सबै व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

भूमे गाउँपालिका वडा नं. १ र २ मा गरिएको संयुक्त बजार अनुगमनले स्थानीय बजारमा रहेको अव्यवस्था, दर्ता तथा नवीकरणप्रति देखिएको लापरवाही र म्याद नाघेका सामग्रीको बिक्री जस्ता समस्यालाई उजागर गरेको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर २७ गते शनिवार