मंसिर २९ , लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वको भूमे गाउँपालिका – ७ धर्मशालामा सोमबार बिहानदेखि भीड सामान्यभन्दा फरक थियो। फूलमालाले सजिएको नयाँ भवनको आँगनमा उभिएका स्थानीयहरूका आँखामा एउटै प्रश्न र एउटै उत्साह देखिन्थ्यो ।अब हाम्रो काम आफ्नै घरबाट हुन्छ ? उद्घाटनसँगै त्यसको जवाफ पनि आयो । हो, हुन्छ।
भूमे गाउँपालिका वडा नम्बर ७ ले स्थानीय सरकार स्थापना भएको करिब नौ वर्षपछि आफ्नै पक्की प्रशासनिक भवन पाएको छ। यसअघि भाडाका र अस्थायी संरचनाबाट सेवा लिँदै आएका स्थानीयवासीका लागि यो भवन केवल भौतिक संरचना मात्रै होइन, स्थानीय शासनको पहुँच र अनुभूतिको प्रतीक बनेको छ ।
सोमबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघबहादुर श्रेष्ठ र भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले संयुक्त रूपमा वडा कार्यालयको प्रशासनिक भवन उद्घाटन गरे। कार्यक्रममा वृद्धदेखि युवासम्मका अनुहारमा सन्तोष र आशा दुवै झल्किएको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेघबहादुर श्रेष्ठले जनयुद्ध, गणतन्त्र स्थापना र त्यसपछिका राजनीतिक परिवर्तनकै कारण आज गाउँ–गाउँमा सरकारी सेवा पुग्न सम्भव भएको बताए । “पहिले सिंहदरबार काठमाडौँमा मात्रै सीमित थियो, आज गाउँमै सरकार छ,” उनले भने । “स्थानीय सरकार सुदृढ बन्दै जाँदा सेवा पनि जनताको ढोकासम्म पुगेको छ ।”
गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठका अनुसार नयाँ भवन सेवा प्रवाह सुधार गर्ने आधार हो। “यो भवन इँटा–सिमेन्टको संरचना मात्रै होइन, सुशासनको सुरुवात पनि हो,” उनले भने । श्रेष्ठको अनुसार गाउँपालिकाले सबै वडामा प्रशासनिक तथा सामाजिक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । मध्यपहाडी राज मार्गको छेउमा वडा नम्बर -१ को प्रशासनिक भवन पनि ४ महिना पहिले उद्घाटन गरिएको श्रेष्ठले बताए । पालिका भित्र रहेका नौ वटा वडा मध्य दुई वडामा पक्की संरचना बनि सकेको छ । बाकी रहेका ७ वटा वडा पनि भाडाको भवनन नभई साना भए पनि आफ्नै भवनबाट सेवा दिई रहेका छौं । अर्को वर्षकव यस महिनासम्म वडा नम्बर ३ को प्रशासनिक भवन पनि उद्घाटन गर्ने उनले बताए ।
उपाध्यक्ष सबिना बुढा मगरले वडा कार्यालयको आफ्नै भवन निर्माण हुनु स्थानीय सरकारको संस्थागत विकासको महत्वपूर्ण उपलब्धि भएको बताइन् । “जनताको विश्वास जित्ने गरी सेवा दिनु हाम्रो जिम्मेवारी हो,” उनले भनिन् ।
यस्तै नेकपाका नेता रुपधन कामीले जनयुद्ध र सहिदहरूको बलिदानकै कारण आज गाउँ–गाउँमा ‘सिंहदरबार’ पुगेको टिप्पणी गरे। उहाँले अब राज्य सञ्चालनको जिम्मा केही व्यक्तिमा सीमित नरही जनतासम्म पुगेको उल्लेख गरे ।
लामो समयदेखि अस्थायी संरचनाबाट सेवा दिँदै आएको वडा कार्यालयका लागि यो दिन ऐतिहासिक बन्यो । वडा अध्यक्ष संगम रोकाले नौ वर्षको प्रतीक्षापछि आफ्नै भवन पाउन सफल भएको भन्दै यसले प्रशासनिक कामकाजलाई सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् ।
वडा कार्यालय भवन निर्माणका लागि जग्गा दान गर्ने ढोटे रोका, धनलाल रोका, वसन्त रोका, फर्के रोका, उजेलसरी रोका, जंगे रोका र संगम रोकालाई गाउँपालिकाले कदर पत्रले समेत सम्मान गरेको छ ।
भवन निर्माणका लागि रोल्पा नगरपालिका–२ रोल्पाको शुभम निर्माण सेवा कम्पनीले २०८० माघ २६ गते वडा कार्यालयको प्रशासनिक भवन निर्माणको सम्झौता गरेकोमा भवन निर्माण गरिसक्ने अवधि २०८२ माघ २६ गते सम्म रहेको थियो । तर, ठेकेदारले सम्झौता मिति भन्दा एक महिना अघि नै भवन निर्माण गरेको छ । नेपाल सरकार र भूमे गाउँपालिकाको समपुरक बजेट २ करोड ४९ लाख ७६ हजार १ सय ४३ रुपैयाँमा भवन निर्माण भएको छ ।
















प्रतिक्रिया दिनुहोस्