साइनबोर्डले र भाषणले होइन, स्पष्ट नीति, पर्याप्त बजेट र प्रभावकारी कार्यान्वयनले मात्र पर्यटन विकास सम्भव हुन्छ । यो यथार्थलाई रुकुम पूर्वका स्थानीय सरकारले अझै गम्भीरतापूर्वक आत्मसात गर्न सकेको छैनौं । हिमाली जिल्ला रुकुम पूर्व प्राकृतिक, सांस्कृतिक र भौगोलिक दृष्टिले पर्यटनको अपार सम्भावना बोकेको जिल्ला हो, तर ती सम्भावना व्यवहारमा रुपान्तरण हुन सकेका छैनन् ।
रुकुम पूर्वका तीनै गाउँपालिका सिस्ने, पुथा उत्तरगंगा र भूमेका आ–आफ्नै विशेषता छन् । सिस्ने गाउँपालिका हिमाल, जडीबुटी, धार्मिक स्थल र साहसिक पर्यटनका लागि उपयुक्त क्षेत्र हो । पुथा उत्तरगंगा गाउँपालिका उच्च हिमाली भू–भाग, मौलिक संस्कृति र ट्रेकिङ सम्भावनाले भरिपूर्ण छ । भूमे गाउँपालिका ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको धनी क्षेत्रका रूपमा चिनिन्छ । यस्ता विशिष्टता हुँदाहुँदै पनि यी क्षेत्रहरूमा पर्यटन विकासको स्पष्ट दिशा देखिँदैन ।
स्थानीय सरकारका प्रतिनिधिहरू सार्वजनिक कार्यक्रममा भन्छन् “रुकुम पूर्व पर्यटनको ठूलो सम्भावना बोकेको जिल्ला हो।” तर यही भनाइ बजेट र नीतिमा किन देखिँदैन ? धेरै ठाउँमा पर्यटकीय क्षेत्र भनेर साइनबोर्ड त राखिएको छ, तर त्यहाँ पुग्ने सडक, सूचना केन्द्र, बसोबासको सुविधा र सुरक्षा व्यवस्था छैन । साइनबोर्डले पर्यटक भित्र्याउँदैन, संरचना र सेवा बिना पर्यटन सम्भव हुँदैन ।
हिमाली जिल्ला भएकाले रुकुम पूर्वमा पर्यटन विकास थप योजनाबद्ध हुनुपर्छ । भौगोलिक कठिनाइ, मौसम र पहुँचको समस्या समाधान नगरी पर्यटन प्रवर्द्धनको कुरा गर्नु आत्मविरोधी हुन्छ । तर स्थानीय तहहरूले दीर्घकालीन पर्यटन नीति निर्माणमा चासो नदेखाएको गुनासो व्यापक छ । तीनै गाउँपालिकाबीच समन्वय गरेर साझा पर्यटन मार्ग, प्याकेज र प्रवर्द्धन रणनीति बनाउन सकिन्थ्यो, तर त्यो पहल देखिँदैन ।
स्थानीय सरकार स्वयंले स्वीकार गर्छ “बजेट अभाव छ ।” तर पर्यटनलाई खर्च होइन, लगानीका रूपमा बुझ्न नसक्नु नै मुख्य समस्या हो । यदि पर्यटनबाट रोजगारी, आयआर्जन र स्थानीय अर्थतन्त्र सुदृढ हुन्छ भने किन यस क्षेत्रमा न्यूनतम बजेट मात्रै छुट्याइन्छ ? यो प्रश्नको जवाफ स्थानीय सरकारले दिनैपर्छ ।
पर्यटन विकास स्थानीय समुदायको सहभागिताबिना सम्भव हुँदैन । सिस्ने, पुथा उत्तरगंगा र भूमेमा होमस्टे, स्थानीय उत्पादन, सांस्कृतिक संरक्षण र युवा लक्षित तालिम कार्यक्रम अघि बढाउन सकिन्छ । तर यी सबै नीति र बजेटमा स्पष्ट रूपमा समेटिनुपर्छ ।
अब रुकुम पूर्वका स्थानीय सरकारलाई स्पष्ट सन्देश छ । पर्यटन विकास साइनबोर्डले र भाषणले होइन, नीति र बजेटले हुन्छ । कागजी प्रतिबद्धता होइन, व्यवहारिक कार्यान्वयन देखिनुपर्छ ।
















प्रतिक्रिया दिनुहोस्