पुस ३, बुधबार। रुकुमपूर्वको भूमे गाउँपालिका पछिल्ला वर्ष यता ‘सफा, समृद्ध र आत्मनिर्भर भूमे’ को लक्ष्यसहित शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार , कृषि र पर्यटन क्षेत्रको विकासमा तीव्रताको साथ अघि बढिरहेको छ । विकासका आधारभूत कामहरु सम्पन्न हुने क्रमसंगै गाउँपालिकाले आत्मनिर्भर स्थानीय अर्थतन्त्रकाे विकास गरि एउटा फड्को को परिकल्पना गर्दैछ । यसै सन्दर्भमा गाउँपालिकाले वडा नम्बर –१ स्थित लुगुम खोला–विक्याङ क्षेत्रमा जलविद्युत् परियोजनाको लागि सम्भावित क्षेत्रको प्रारम्भिक अध्ययन सुरु गरेको छ ।
गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ, वडा अध्यक्ष मनकाजी पुन, राजनीतिक व्यक्तित्व जितमान पुन (मार्सल), पूर्व वडाध्यक्ष रामचन्द्र पुन, युवा नेता चन्द्र रसाइली, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष बालाराम शेर्पाली तथा स्थानीय बुद्धिजीवी र समाजसेवी सहितको टोलीले बुधबार सो क्षेत्रमा स्थलगत रुपमा उर्जा क्षेत्रको सम्भाव्यता अध्ययन गरेको हो ।
गाउँपालिका अध्यक्ष श्रेष्ठले संघीय र प्रादेशिक वित्तिय हस्तातरणहरुको भरमा मात्र होईन आफ्नै आत्मानिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने बताए । ” हाम्रो गाउँपालिकासँग आफ्नो आन्तरिक स्रोतको प्रचुर सम्भावना छ । त्यस मध्ये उर्जा पनि एक बलियो स्रोत हो ” । गाउँपालिका भित्रका उर्जा, पर्यटन र खानीका स्रोतहरुको उपयोगको रणनिती लिएर समृद्धीको दिशामा अघि बढ्ने बताए ।
यस्तै वडा अध्यक्ष मनकाजी पुनले यस्ता परियोजनाहरु विकास गर्न सकेमा युवालाई स्वदेशमा नै रोजगारिको अवसर प्राप्ती संगै र स्थानीय अर्थतन्त्र चलायमान हुने बताए ।
राजनीतिक व्यक्तित्व जितमान पुन (मार्सलले) उर्जा परियोजना विकास गर्न सकेमा समुदायको जीवन स्तरको विकासमा टेवा पुर्याउने मात्र नभएर सिगों गाउँपालिकाको आन्तरिक आयस्रोतमा दिगोपना ल्याउने बताए ।
लुगुम–विक्याङ क्षेत्रको जलविद्युत् सम्भाव्यत लगायत अन्य क्षेत्रहरुकाे अध्ययन संगै भूमे गाउँपालिकाले आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ महत्वपूर्ण पाइला चालेको छ । विकासका नियमित योजनासँगै उर्जा उत्पादन जस्ता रणनीतिक परियोजना विकास गर्न सकेमा भूमेले आर्थिक रूपमा आफुलाई सबल बनाउने अपेक्षा गरिएको छ ।

















प्रतिक्रिया दिनुहोस्