रुकुमपूर्व । शिक्षक सेवा परिक्षामा भूमे गाउँपालिकाको तयारी कक्षाले ठोस परिणाम दिएको छ। गाउँपालिकाले लोकसेवा र शिक्षक सेवा लक्षित तयारी कक्षा सञ्चालन गरेको थियो । उक्त कक्षामा सहभागी सात जनामध्ये तीन जनाले मंसिर २० गते भएको शिक्षक सेवा लाइसेन्स परिक्षामा सफलता हासिल गरेका छन्।
सफलमध्ये भूमे–३ की सम्झना मल्ल, भूमे–२ की ईखमा माया पुन र भूमे–८ की श्रृष्टी बुढामगर रहेका छन्। गाउँपालिकाका सूचना अधिकारी प्रेम भट्टराईका अनुसार तयारी कक्षाले ग्रामीण भेगका युवालाई परिक्षामुखी दक्षता प्रदान गर्ने उद्देश्य राखेको बताए । “भाग लिनेमध्ये ४३ प्रतिशत विद्यार्थी सफल हुनु हाम्रो प्रयास सफल दिशामा रहेको प्रमाण हो,” भट्टराईले भने ।
गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले स्थानीय तहबाट युवाका शिक्षा तर्फ गरिएको लगानी परिणाममुखी बन्न थालेको टिप्पणी गरेका छन् । “शिक्षक सेवामा तीन युवा सफल हुनु केवल व्यक्तिगत उपलब्धि मात्रै होइन, गाउँपालिकाको शैक्षिक अभियानले अपेक्षित परिणाम दिन थालेको सन्देश पनि हो। अब हामी अझ व्यवस्थित, अनुसन्धानमुखी र व्यवहारिक तयारी कक्षा सञ्चालन गर्छौं।” श्रेष्ठले भने । गाउँपालिकाले आगामी वर्षदेखि तयारी कक्षालाई नियमित कार्यक्रम विस्तार गर्ने उनले बताए ।
प्रकाशित मिति : २०८२ पुष ४ गते शुक्रवार














प्रतिक्रिया दिनुहोस्