रुकुम पूर्व । जिल्लाका स्थानीय तहहरूबीचको कार्यगत सम्बन्धलाई खेलकुदको माध्यमबाट प्रगाढ बनाउने उद्देश्यले आयोजित अन्तर पालिका स्तरीय मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि सिस्ने गाउँपालिकाले आफ्नो पोल्टामा पारेको छ। शनिबार रुक्मिणी माविको खेलमैदानमा भएको निकै उत्साहजनक फाइनल भिडन्तमा सिस्नेले भूमे गाउँपालिकालाई ५ विकेटले पन्छाउँदै जीत निकालेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको भूमेले निर्धारित ओभरमा सिस्नेलाई १२२ रनको मध्यम लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको सिस्नेको टोलीले आक्रामक र संयमित खेल प्रदर्शन गर्दै मात्र १३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो। सिस्नेको जीतमा उत्कृष्ट बलिङ र ब्याटिङको तालमेल देखिएको थियो। प्रतियोगिताभर चम्किएका सिस्नेका ईश्वर महरा ‘वेस्ट प्लेयर’ र नवीन बोहरा ‘वेस्ट बलर’ को रूपमा पुरस्कृत भएका छन् ।
खेलाडी समेत रहेका सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउलेले हामी जिल्लाका तीन पालिकाहरू भावनाले पनि जोडिनुपर्छ। यो क्रिकेट मैदानले हामीलाई कार्यालयको फाइलभन्दा बाहिर निस्किएर एकआपसमा चिनजान र सहकार्य गर्ने अवसर दिएको छ। यस्ता खेलले जिल्लाको क्रिकेट क्रेजलाई मात्र बढाउँदैन, पालिकाहरूबीचको समन्वयलाई पनि नयाँ उचाइ दिनेछ।” उनले भने।
विजेता टोलीले ट्रफी र मेडल प्राप्त गर्दा उपविजेता भूमेका खेलाडीहरूले मेडलमा चित्त बुझाएका छन्। खेलको समापनसँगै जिल्लामा क्रिकेटको नयाँ लहर आउने अपेक्षा स्थानीय खेलप्रेमीहरूले गरेका छन्।











प्रतिक्रिया दिनुहोस्