रुकुम पूर्व । भूमे गाउँपालिकामा पशुमा देखिने अत्यन्तै सरुवा रोग खोरेत (एफएमडी) नियन्त्रणका लागि पहिलो पटक सञ्चालन गरिएको पूर्ण खोप अभियान सम्पन्न भएको छ । असोज महिनाको अन्तिम सातादेखि सुरु भएको खोप कार्यक्रम झन्डै दुई महिनासम्म चलेको थियो । जस्मा पालिकाभर २३ हजार ४ सय ८६ पशुमा खोरेतविरुद्धको खोप लगाइएको छ ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय र भूमे गाउँपालिकाको संयुक्त पहलमा चालु आर्थिक वर्ष २०८२/८३ अन्तर्गत उक्त अभियान सञ्चालन गरिएको थियो ।गाउँपालिका भित्रका नौ वटै वडामा एकसाथ अभियान सञ्चालन गरेर गाई, भैँसी, भेडा, बाख्रा तथा बंगुरमा पहिलो चरणको खोप सम्पन्न गरिएको हो ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख डिल्लीराज पौडेलका अनुसार गाई ७ हजार ९ सय ३१, भैँसी १ हजार ५ सय १७, भेडा/बाख्रा १३ हजार ५ सय ३२ र बंगुर ५ सय ६ वटा पशुमा खोप लगाइएको हो। खोरेत रोग पशुमा लाग्ने अत्यन्तै सरुवा रोग हो। यस रोग लागेमा उच्च ज्वरो आउने, घाँस नखाने, मुख तथा खुरमा फोका देखिने, र्याल चुहिने र पशु लङ्गडो हुनेजस्ता लक्षण देखिने गर्छन्। समयमै नियन्त्रण र उपचार नहुँदा साना तथा कमजोर पशुको मृत्यु हुने जोखिमसमेत रहने पौडेलले बताउनुभयो ।
एक पटकको खोपले पूर्ण सुरक्षा नदिने भएकाले पहिलो चरणपछि करिब ६ महिनामा बुस्टर डोजका रूपमा दोस्रो चरणको खोप अभियान सञ्चालन गरिने जनाइएको छ। दोस्रो चरणको खोप सम्पन्न भएपछि भूमे गाउँपालिकालाई ‘खोरेत मुक्त पालिका’ घोषणा गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ।
अभियानका क्रममा केही कृषकमा खोप लगाएपछि पशु बिरामी हुन्छन् भन्ने भ्रम देखिएकाले उपचारभन्दा रोग नलाग्ने गरी खोप नै सबैभन्दा सुरक्षित उपाय भएकोबारे कृषकलाई सचेत गराइएको भूमे गाउँपालिकाले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्