२०८३ साउन १३ गते बुधवार

प्रविधिले फेर्दैछ भूमेको मुहार



नेपालको भौगोलिक नक्सामा विकट मानिने रुकुमपूर्वको भूमे गाउँपालिका यतिबेला एउटा मौन तर अर्थपूर्ण रूपान्तरणको साक्षी बनिरहेको छ। कुनै समय सञ्चारको पहुँचबाट टाढा रहेको यो हिमाली बस्तीमा प्रविधिको प्रवेशले नागरिकको जीवनशैली मात्र बदलेको छैन, बरु विकासको आधुनिक परिभाषालाई समेत पुनर्गठित गरिदिएको छ। जर्सी ओभरशिज एडको आर्थिक सहयोग, प्राक्टिकल एक्सनको साझेदारी र डिप्रोक्स नेपालको व्यवस्थापनमा सञ्चालित ‘समुन्नति डिजिटल फाइनान्स परियोजना’ ले भूमेमा जुन डिजिटल पूर्वाधार खडा गरेको छ, त्यो दुर्गम क्षेत्रका लागि एउटा उदाहरणीय कदम हो।

सूचना प्रविधिको युगमा इन्टरनेट र वित्तीय साक्षरता अब विलासिताका विषय रहेनन्, यी त आधारभूत आवश्यकता भइसकेका छन् । उच्च गतिको ‘फाइबर इन्टरनेट’ पुग्नुले भूमेलाई विश्वसँग सिधा जोडिदिएको छ। हिजो फोनको नेटवर्क खोज्न डाँडाकाँडा उक्लनुपर्ने सास्ती भोगेका नागरिकका लागि आज घरको चौघेराभित्रै डिजिटल संसार उपलब्ध हुनु ठूलो उपलब्धि हो। यसले स्थानीयको समय मात्र जोगाएको छैन, बरु सूचनाको शक्तिमार्फत उनीहरूको आत्मबल समेत बढाएको छ।

परियोजनाको सबैभन्दा सबल पक्ष प्रविधिलाई जीविकोपार्जनको मुख्य आधार ‘कृषि’ सँग झन्डै पाँच सय कृषकले ‘कृषि एप’ मार्फत मौसमको पूर्वानुमान, बीउबिजनको छनोट र बजारको वस्तुस्थिति बुझ्न पाउनुले परम्परागत खेती प्रणालीमा आधुनिकताको सञ्चार गरेको छ। त्यस्तै, डिजिटल वालेटमार्फत हुने वित्तीय कारोबारले ग्रामीण अर्थतन्त्रलाई औपचारिक ढाँचामा ल्याउन सघाएको छ। घरमै बसेर बैंकिङ सुविधा उपभोग गर्न पाउनुले वित्तीय समावेशीकरणको मर्मलाई सार्थक तुल्याएको छ।

गाउँपालिकाको केन्द्रमा स्थापना गरिने अत्याधुनिक ‘डिजिटल लर्निङ सेन्टर’ ले ग्रामीण सिकाइको पुरातन शैलीलाई विस्थापित गर्ने सम्भावना बोकेको छ। स्मार्ट बोर्डले र अडियो–भिजुअल माध्यमबाट दिने ज्ञानले थप प्रभावकारी र रुचिपूर्ण बनाउनेछ । स्थानीय सरकारको ‘सूचना प्रविधिमैत्री भूमे’ को दूरगामी लक्ष्यलाई यस्ता परियोजनाले ठोस धरातल प्रदान गरेका छन् ।

यद्यपि, प्रविधिको यो छलाङलाई दिगो बनाउनु अबको मुख्य चुनौती हो। परियोजनाको अवधि सकिएपछि पनि यी सेवाहरूको निरन्तरता र प्रविधिको सुरक्षित प्रयोगका बारेमा स्थानीय तहले ठोस कार्ययोजना बनाउनु पर्छ। प्रविधिले सुविधासँगै केही जोखिम पनि ल्याउने हुँदा डिजिटल सुरक्षा र साइबर सचेतनालाई प्राथमिकतामा राख्नु अनिवार्य छ। भूमेको यो डिजिटल यात्रा भौगोलिक विकटतालाई प्रविधिले कसरी सहज बनाउन सक्छ भन्ने एउटा उत्कृष्ट दृष्टान्त हो। अबको आवश्यकता यस प्रविधिलाई केवल सञ्चारमा मात्र सीमित नराखी शिक्षा, स्वास्थ्य र स्वरोजगारका अवसरहरूसँग जोड्नु हो। प्रविधिको यो उज्यालोले भूमेको समृद्धिमा कोसेढुङ्गा सावित हुने अपेक्षा गर्न सकिन्छ।

प्रकाशित मिति : २०८२ पुष १७ गते बिहिवार