पुस १७ , विकट मानिने रुकुमपूर्वको भूमे गाउँपालिकामा पछिल्लो समय प्रविधिको प्रयोगमार्फत नागरिकको जीवनशैलीमा ठूलो परिवर्तन आउन थालेको छ । जर्सी ओभरशिज एडको आर्थिक सहयोग र प्राक्टिकल एक्सनको साझेदारीमा डिप्रोक्स नेपालद्वारा सञ्चालित ‘समुन्नति डिजिटल फाइनान्स परियोजना’ ले यहाँका गाउँहरूलाई प्रविधिसँग जोडेपछि स्थानीयको दैनिकी फेरिन थालेको हो ।
विगत ३ वर्षदेखि निरन्तर सञ्चालित यस परियोजनाले हालसम्म गाउँपालिकाका ६ सय ८८ घरधुरीलाई प्रत्यक्ष रूपमा वित्तीय शिक्षा र डिजिटल साक्षरता तालिम प्रदान गरिसकेको छ । तालिममार्फत नागरिकहरूलाई बैंक तथा वित्तीय संस्थासँग जोड्नुका साथै सुरक्षित डिजिटल कारोबारका बारेमा सचेत गराइएको छ ।
घर–घरमा इन्टरनेट र कृषि एप परियोजनाले केवल तालिममा मात्र सीमित नरही प्रविधिमा पहुँच पुर्याउन ३ सय २५ घरमा ६ महिनाको महसुलसहितको ‘फाइबर इन्टरनेट’ जडान गरिदिएको छ। गाउँपालिकाका वडा नम्बर २, ३, ४, ५, ६ र ८ मा इन्टरनेटको पहुँच पुगेपछि स्थानीयले आधुनिक सञ्चार सुविधाको अनुभव गर्न पाएका छन् ।
यसैगरी, प्रविधिलाई उत्पादनसँग जोड्न ४ सय ७२ जना कृषकलाई ‘कृषि एप’ प्रयोग गर्न सिकाइएको छ, जसले गर्दा मौसम, बीउबिजन र बजारको जानकारी लिन सहज भएको छ। हाल २ सय ९८ घरधुरीले सक्रिय रूपमा डिजिटल वालेटमार्फत घरबाटै आर्थिक कारोबार गरिरहेको जानकारी परियोजनाका गोपाल केसिले दिए ।
स्थानीयको अनुभव प्रविधिको विस्तारले ग्रामीण जीवनमा ल्याएको सहजताप्रति स्थानीयहरू उत्साहित छन्। भूमे गाउँपालिका–४ की चन्द्रमाया बुढाले पहिलेको तुलनामा अहिले धेरै सहज भएको अनुभव सुनाए । “अहिले त मोबाइल बैंकिङ र व्यवसाय गर्न सजिलो भएको छ, घरमै बसेर मज्जाले इन्टरनेट चलाउन पाएका छौँ,” उनले भनिन्।
त्यस्तै, वडा नम्बर ८ कुचिबाङकी दया रोकाले विगतको सास्ती सम्झिँदै भनिन्, “पहिले फोन गर्न समेत सकस हुन्थ्यो। डाटाको झन्झट उत्तिकै, नेटवर्क खोज्न घरभन्दा टाढा डाँडासम्म पुग्नुपर्थ्यो। अहिले घरमै इन्टरनेट आएपछि सबै सहज भएको छ।” उनले कृषि एपको प्रयोगले खेतीपातीमा समेत नयाँ कुरा सिक्न सजिलो भएको बताइन् ।
लर्निङ सेन्टरमा अत्याधुनिक स्मार्ट बोर्ड परियोजनाले आफ्नो सेवालाई थप परिष्कृत बनाउन ‘डिजिटल लर्निङ सेन्टर’ (सिकाई केन्द्र) समेत स्थापना गरेको छ । गाउँपपालिकाको केन्द्रमा ७५ इन्चको अत्याधुनिक स्मार्ट बोर्ड र कलर प्रिन्टर जडान गरिएको छ । अबका दिनमा प्रदान गरिने डिजिटल साक्षरता र वित्तीय तालिमहरू अडियो–भिजुअल माध्यमबाट अझ प्रभावकारी ढंगले सञ्चालन गरिने केसीले बताए ।
गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले परियोजनाले गाउँपालिकाको डिजिटल अभियानलाई ठूलो बल पुर्याएको बताए । “हामीले भूमेलाई सूचना र प्रविधिमैत्री बनाउने लक्ष्य राखेका थियौँ, यस परियोजनाले त्यसलाई व्यवहारमै उतार्न मद्दत गरेको छ,” अध्यक्ष श्रेष्ठले भन्ने, “अहिले नागरिकहरूले घरमै बसेर इन्टरनेट चलाउने, बैंकिङ कारोबार गर्ने र कृषिका नयाँ प्रविधिबारे जानकारी लिने वातावरण बनेको छ। यसलाई आगामी दिनमा अझै विस्तार गर्दै लैजाने योजना छ।”
परम्परागत खेतीपाती र सामान्य साक्षरतामा सीमित रहेका भूमेका ग्रामीण बस्तीहरू अहिले डिजिटल वालेटदेखि फाइबर नेटसम्मको पहुँचमा पुग्नुलाई यस क्षेत्रकै ठूलो उपलब्धि मानिएको छ । प्रविधिको यो विस्तारले आगामी दिनमा गाउँपालिकालाई पूर्ण रूपमा डिजिटल बनाउन टेवा पुग्ने विश्वास लिइएको छ ।
















प्रतिक्रिया दिनुहोस्