२०८३ साउन १३ गते बुधवार

नीतिगत निर्णय गर्दै भूमेको हिउँदे अधिवेशन समापन



रुकुम पूर्वको भूमे गाउँपालिकाको हिउँदे अधिवेशन (गाउँ सभा) आइतबार सम्पन्न भएको छ। आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटको मध्यावधि समीक्षा गर्दै सभाले महत्वपूर्ण निर्णयहरू पारित गरेको हो ।

गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनले मुख्यगरी दुईवटा कार्यसूचीमाथि केन्द्रित रहेर छलफल गरेको थियो । सभाले न्यायिक समितिले सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन र विभिन्न विकास योजनाहरूको रकमान्तरसम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।

गाउँपालिकाका प्रवक्ता नारायण पुन मगरका अनुसार, चालु आर्थिक वर्षका केही योजनाहरू जनचाहना र आवश्यकताका आधारमा बजेट रकमान्तर गरिएको हो । “बजेटको प्रभावकारी कार्यान्वयन र विकासको गतिलाई तीव्रता दिन केही योजनाहरूको रकमान्तर गर्ने निर्णय भएको छ,” प्रवक्ता पुनले भने, “यसले फ्रिज हुने जोखिममा रहेका बजेटलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न सहयोग पुग्नेछ।”

त्यस्तै, उपाध्यक्षको नेतृत्वमा रहने न्यायिक समितिले स्थानीयस्तरमा गरेका विवाद निरुपण र मेलमिलापका प्रयासबारेको प्रतिवेदनमाथि पनि सभामा छलफल भएको थियो। स्थानीय सरकार सञ्चालन ऐन बमोजिम समितिले आफ्नो कार्यसम्पादनको फेहरिस्त सभामा प्रस्तुत गरेको हो ।

अधिवेशनको सुरुमा वडा नं.-३ का वडाध्यक्ष प्रशुराम बुढामगरले स्वागत मन्तव्य राख्दै गाउँपालिकाको समृद्धिका लागि जनप्रतिनिधिहरूबीच साझा धारणा हुनुपर्नेमा जोड दिएका थिए । हिउँदे अधिवेशन सकिएसँगै गाउँपालिकाले अब दोस्रो चौमासिकका योजनाहरूको कार्यान्वयन र अनुगमनलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : २०८२ पुष २७ गते आइतवार