२०८३ बैशाख ३ गते बिहिवार

उम्मेदवारी दर्ताका लागि प्रचण्ड भोलि रुकुम पूर्व प्रस्थान गर्ने



माघ ४ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि सोमबार रुकुम पूर्व पुग्ने बताईएको छ। फागुन ६ गते हुने मनोनयन दर्ताका लागि उनी आफ्नै राजनीतिक आधारभूमि मानिने रुकुम पूर्व आउन लागेका हुन् । नेपाल कम्युनिस्ट पार्टी रुकुम पूर्वका अनुसार प्रचण्डको स्वागतका लागि जिल्लाभरको तयारी तीव्र पारिएको छ। जनयुद्धको उद्गमस्थलबाट पार्टीका शीर्ष नेता नै चुनावी मैदानमा उत्रिने भएपछि यसलाई राष्ट्रिय राजनीतिमा निकै चासोका साथ हेरिएको छ।

नेकपा रुकुम पूर्वका इन्चार्ज तेज बहादुर ओलीका अनुसार प्रचण्डको कार्यतालिका तय भइसकेको छ। उहाँ सोमबार रुकुम पूर्व पुग्नुहुनेछ भने मंगलबार तामझामका साथ उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ। “अध्यक्षज्यू सोमबार आउनुहुनेछ, मंगलबार मनोनयन दर्ता गरेर बुधबार मात्र काठमाडौँ फर्कने कार्यतालिका छ,” इन्चार्ज ओलीले भन्ने, “यस क्रममा उहाँले जिल्लाका नेता तथा कार्यकर्ताहरूसँग विशेष राजनीतिक छलफल र परामर्श समेत गर्नुहुनेछ।”

प्रचण्डले रुकुम पूर्व रोज्नुलाई राजनीतिक वृत्तमा दुई अर्थमा हेरिएको छ। एकातिर, पूर्व प्रधानमन्त्रीले प्रतिनिधित्व गर्दा दुर्गम क्षेत्रको विकासले गति लिने भन्दै रुक्मेली जनता उत्साहित देखिएका छन् । अर्कोतिर, अन्य निर्वाचन क्षेत्रहरूमा चुनावी समीकरण चुनौतीपूर्ण बन्दै गएपछि प्रचण्डले आफ्नो लागि सबैभन्दा ‘सुरक्षित’ मानिएको रुकुम पूर्वलाई रोजेको विश्लेषण समेत भइरहेको छ। जनयुद्धकालदेखि नै दह्रो जनमत रहेको यस क्षेत्रलाई प्रचण्डको राजनीतिक पुनरागमनको बलियो आधार मानिएको छ ।

प्रकाशित मिति : २०८२ माघ ४ गते आइतवार