२०८३ साउन १२ गते मङ्गलवार

भूमेको सक्रियतामा खुल्यो अवरुद्ध मध्यपहाडी लोकमार्ग



१० माघ, रुकुमपूर्व । शुक्रबारदेखि जारी भारी हिमपातले ठप्प बनेको मध्यपहाडी लोकमार्ग खुलाउन भूमे गाउँपालिकाले मुख्य नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । लोकमार्गको लुकुम–पातिहाल्ना खण्डमा बाक्लो हिउँ जमेर सकड अवरुद्ध  हुदाँ अलपत्र परेका यात्रुहरूलाई भूमेको सक्रियतामा उद्धार गरी सडक सुचारु गरिएको हो । सडक अवरुद्ध हुँदा काठमाडौंबाट रुकुमपूर्व र पश्चिमका लागि छुटेका सवारी साधनहरू बीच बाटोमै रोकिएका थिए । यात्रुहरू हिउँमा फसेको जानकारी पाएलगत्तै भूमे गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायको टोली तत्कालै उद्धारमा खटिएको थियो ।

प्रमुख जिल्ला अधिकारी सीता परियारले सडक खुलाउन र यात्रुको उद्धार गर्न भूमे गाउँपालिका र सुरक्षा निकायको समन्वयकारी भूमिकाको प्रशंसा गर्नुभयो । “हामीले भूमेसँग समन्वय गरेर तत्कालै हिउँ पन्छाउने व्यवस्था मिलायौँ,” प्रजिअ परियारले भन्नुभयो, “अहिले सडक खुलेको छ, तर हिमपात जारी रहेकाले फेरि पनि अवरुद्ध हुन सक्ने जोखिम भने कायमै छ ।”

सडकमा थुप्रिएको हिउँ पन्छाउन भूमे गाउँपालिकाले आफ्नै उपकरण (जेसिभी) र प्राविधिक टोली परिचालन गरेको थियो । भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देबिलाल बिकले भौगोलिक विकटता र प्रतिकूल मौसमका बाबजुद नागरिकको सहजताका लागि तत्काल पहल गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकको सुरक्षा र सहजता हाम्रो पहिलो प्राथमिकता हो । भूमे गाउँपालिकाको स्रोत र साधन प्रयोग गरेर सडक सफा गरेपछि सवारी साधनहरू गन्तव्यतर्फ लागेका छन् ।”

प्रकाशित मिति : २०८२ माघ १० गते शनिवार