२०८३ बैशाख ३ गते बिहिवार

हिमपातले रुकुमपूर्वका किसानमा उत्साह



माघ १२, लामो समयदेखि खडेरीको मार खेप्दै आएका रुकुमपूर्वका किसानहरूमा शुक्रबार रातिदेखि भएको हिमपातले नयाँ उत्साह जगाएको छ। आकाशे पानी र हिउँको पर्खाइमा रहेका यहाँका कृषकहरू माघ दोस्रो साताको यो मौसमी परिवर्तनसँगै हिउँदे बाली सप्रिनेमा ढुक्क देखिएका छन् । पछिल्लो समय बढ्दै गएको सुख्खापनले बारीमा लगाएको गहुँ र जौ सुक्न थालेपछि किसानहरू चिन्तित थिए । तर, हिउँदे जाडोको बेवास्ता गर्दै किसानहरू यतिबेला खेतबारीमा रमाउन थालेका छन् । हिमपात र वर्षाले सुक्खा जमिनमा चिस्यान पैदा गरेपछि उनीहरूमा खेतीपातीप्रति नयाँ जोश पलाएको हो ।

बालीलाई राहत, किराको प्रकोप घट्ने माघको यो हिमपात विशेषगरी गहुँ र जौ उम्रिने तथा हुर्कने समय भएकाले निकै फलदायी हुने मानिएको छ ।भूमे – ९ विजौराका स्यामबहादुर ओलीले हिउँले जमिनलाई भित्रैसम्म भिजाउने भएकाले उत्पादनमा वृद्धि बताए सिचाई अवाको कारण बाली सुकेको थियो । “लामो खडेरीले बाली डढ्न लागेको थियो, यो हिउँ हाम्रा लागि अमृत सरह भयो,” पानी आलु रोप्न सुरुवात गरेको उनले सुनाए । हिउँदको खडेरीले जमिन कडा भएकको थियो। ओखरका विरुवा रोप्न मलजल लगाउन सरु गरेको उनले बताए ।

हिमपातले बालीलाई मात्र फाइदा नपुर्‍याई रोगव्याधि नियन्त्रणमा समेत सघाउ पुर्‍याउने देखिएको छ। अत्यधिक चिसो र हिउँका कारण बाली नष्ट गर्ने फट्याङ्ग्रा लगायतका हानिकारक किराहरू मर्ने र हिउँदे तरकारीको उत्पादनमा समेत गुणात्मक सुधार आउने अपेक्षा गरिएको अर्का भूमे – ८ मैवाङका किसान गिता बुढामगरले बताए ।

सिँचाइको पहुँच नभएका क्षेत्रका किसानका लागि त यो हिमपात बरदान नै सावित भएको छ । पुथा उत्तरगङ्गा–१०, तकसेराका स्थानीय किसान जुनकुमारी बुढा मगर आफ्नो खुसी यसरी व्यक्त गर्दै भने “सिँचाइ सुविधा नहुँदा यहाँ हिउँदे बाली राम्रोसँग फलाउनै सकिँदैनथ्यो । आकाशे पानी नपर्दा खडेरीले खेतबारी सबै बाँझो राख्नुपर्ने बाध्यता थियो, तर अहिलेको हिउँले बाली सप्रिने आशा जगाएको छ ।” उनले भने । भिरालो र पाखो जमिनमा हरियालीको संकेत रुकुमपूर्वका अधिकांश क्षेत्रमा सिँचाइ सुविधा पुग्न सकेको छैन। सिँचाइ अभावका कारण वर्षेनी धेरै पाखे जमिन बाँझो रहने वा कम उत्पादन हुने समस्या थियो।

यस वर्षको समयमै भएको वर्षा र हिमपातले त्यस्ता बाँझो र पाखो बारीमा पनि राम्रो उब्जनी हुने विश्वास पलाएको छ । जिल्लाका उच्च भेगहरूमा हिउँको बाक्लो तह जमेको छ भने तल्लो क्षेत्रमा वर्षा भएको छ।यो प्राकृतिक सिँचाइले हिउँदे खाद्यान्न संकटलाई टार्न मद्दत पुग्ने देखिएपछि जिल्लाभरका किसानहरूमा खुसियाली छाएको छ ।

प्रकाशित मिति : २०८२ माघ १२ गते सोमवार