माटोको पि. एच (अम्लीयपना र क्षारीयपना) भनेको के हो ?
माटोको प्रतिकृया अर्थात माटोको अम्लीयपना कति छ भनेर नाप्ने इकाईलाई पि एच भनिन्छ । वालि विरुवाको बूद्धी तथा उत्पादनमा पि एच ले ठुलो असर पार्दछ । पि एच ७ लाई तटस्थ भनिन्छ । पि.एच ७ बाट घट्दै ० सम्म पुग्दा अम्लियपना बढ्दै जान्छ भने ७ बाट बढेर १४ तिर जाँदा क्षारियपना बढ्दै जान्छ । साधारण तया पि.एच ५.५ देखि ७.५ सम्मको माटोलाई कृषिको लागि उपयुक्त मानिन्छ । र प्राय सवै वालीहरु लगाउँन सकिन्छ ।माटोको नमुना लिने तरिका माटो : विभिन्न गुणहरु जस्तै बुनोट, अम्लीयपना वा क्षारीयपना, विरुवाका लागी आवश्यक खाद्यतत्वको अवस्थाको जानकारी लिन र सोको आधारमा कुन बाली लगाउन उपयुक्त हुन्छ भन्ने जान्न माटो जाँच्नुपर्दछ । यसका लागी आवश्यक मात्रामा माटोको नमुना संकलन गर्नुपर्दछ । नमुना संकलन गर्दा माटोको सहि प्रतिनिधित्व गर्ने खालको भएन भने त्यसबाट प्राप्त नतिजा पनि सहि हुँदैन ।

माटोको नमूना संकलन गर्दा ध्यान दिनु पर्ने कुराहरु
माटो नमूना संकलन गर्दा जमिन खाली अथवा बाली लगाउनु भन्दा पहिले र सुख्खा भएको बेलामा गर्नु पर्दछ ।
माटोको नमूना संकलन गर्दा, नमूना संकलन गरेको खेतवारीको प्रतिनिधित्व हुने गरी लिनु पर्दछ ।
नमूना संकलन कार्य खेतवारीमा मलखाद प्रयोग गर्नु भन्दा पहिले नै गर्नु पर्दछ ।
नमूना संकलन गर्दा खेतवारीको छेउबाट वा डिललाट गर्नु हुदैन ।
मलखाद तथा विषादीहरु राख्न प्रयोग गरिसकेको थैलीहरुमा माटोको नमूना संकलन गर्नु हुदैन ।
माटो परिक्षणवाट हुने फाईदाहरु
माटोमा वाली विरुवाको लागि आवश्यक खाद्यतत्वहरुको अवश्था थाहा हुन्छ ।
माटो परीक्षण नचिजाको आधारमा कुन बालीको लागि कुन मल कति प्रयोग गर्नु पर्दछ भन्ने कुरा ज्ञान हुन्छ ।
परीक्षणको आधारमा चाहिने मल चाहिने मात्रामा मात्रे प्रयोग गरिने भएकोले अनावश्यक मलखादको प्रयोगमा कटौती हुनाले त्यसवाट खर्चको वचत हुनुको साथै वातावरणलाई पनि बढी प्रदुशण हुनवाट बचाँउछ ।
समस्यायुक्त माटोको पहिचानले समस्या समाधान गरी उत्पादन टेवा पुर्याउदछ । जस्तै माटोमा अम्लियपना जाँच गर्नाले माटोमा कृषि चुनको प्रयोग गर्नु पर्ने हो वा होइन अथवा प्रयोग गर्नु पर्ने भए कति प्रयोग गर्ने भन्ने कुराको जानकारी गराउँदछ ।
नमुना लिनका लागी के–के सामग्रीहरु चाहिन्छन् ?
नमुना लिने अगर वा खुर्पी वा कोदालो,
नमुना संकलन गर्ने झोला थैलो।
फिँजाउने कागज वा कपडा वा नाङ्गलो (सुपो) ।
ट्याग वा लेवल ।
मार्कर पेन ।
नमुना कसरी लिने ?
जुन खेतबारीको माटो नमुना लिने हो सोको पुरै प्रतिनिधित्व हुने गरी विभिन्न ठाँउबाट नमुना लिनु पर्दछ । त्यस्तै कुन बालिको लागी हो सोहि अनुसारको नमुना लिनुपर्दछ । बालिको अवधि र जराको आधारमा मुख्य गरेर तीन समुहमा बालिलाई लिन सकिन्छ । क) अन्नबालि तथा तरकारी बालिहरुको लागी अन्न वा तरकारी बालीहरुको लागि माटोको नमुना संकलन गर्दा जमिनभन्दा ८ देखी १० इन्च मुनि सम्मको माटोको नमुना लिने गरिन्छ । माटाको नमुना लिनु भन्दा पहिले खेतवारीलाई राम्ररी निरीक्षण गरी एकै किसिमको जग्गावाट एउटा नमुना आउनेगरी विभाजन गर्नु पर्दछ । जग्गालाई विभाजन गर्दा विभिन्न गुणहरु जस्तै माटोको रंग, बनोट, जमिनको भिरालोपना, लगाइएको बाली आदिलाइ लिन सकिन्छ । एकै किसिमको गुण भएको जग्गावाट लगभग १० देखी १२ ठाँउबाट माटोको नमूना झिकि एउटै भाँडोमा जम्मा गर्नु पर्दछ । माटोको नमूना लिन स्वायल अगरको प्रयोग गर्नु पर्दछ वा गाँउघरमा पाइने कोदालो वा खुर्पी पनि प्रयोग गर्न सकिन्छ । सर्वप्रथम माटोको नमूना लिने ठाँउको वरिपरिको घाँस, झारपात र ढुंगा हटाउनु पर्दछ । त्यसपछि “V” आकारको करिब ८ देखी १० इन्च जति गहिरो खाल्डो पार्न पर्दछ । अव सो खाल्डामा माथिवाट आउने गरी करिव ३ से.मि. जति मोटाइको माटोको चपरी निकाल्नु पर्दछ । सवै माटोलाई एकै ठाँउमा राख्ने र डल्ला फुटाई जरा घाँस, झारपात र ढुंगा हटाउने र राम्रो सँग मिसाउने । त्यसपछि माटोलाई चार भाग लगाउने र दुई भाग हटाउन। बाँकी दुई भागलाई फेरि चार भाग लगाउने र दुई भाग हटाउने र सोहि प्रक्रिया अपनाउदै आधा किलो बाँकि मात्र माटो राख्ने ।
फलफुल बालिको लागी: गहिरो जरा जाने अर्थात् ठूलो रुख हुने फलफुल लगाउने स्थानको लागी कम्तिमा हुने ३ देखि ४ फिट गहिराई खाडल खनी हरेक खाडलको माथिल्लो १ फिटको एउटा नमुना, बीचको १ फिटको दोस्रो नमुना र पुच्छारको १ फिटको तेस्रो नमुना लिई जम्मा ३ वटा छुट्टाछुट्टै नमुना लिनुपर्दछ । यसरी सवै खाडलहरुको एउटै गहिराईबाट लिएको माटो एउटै ठाँउमा जम्मा गर्नु पर्दछ । यसरी संकलन गरेको माटोलाई ढुंगा, जराको टुक्रा आदिलाई हटाएर करीब आधा देखी एक किलो (गहि राई अनुसार) छुट्टा छुट्टै माटोको नमूना तयार पार्नु पर्दछ ।
कतिवटा नमुना लिने: एकै प्रकारको माटो (रङ्ग, गहिराई, बुनोट) भएको जमिनबाट एक नमुना लिन सकिन्छ तर यस्तो जमिनको क्षेत्रफल कति छ त्यसमा भर पर्दछ । धेरै ठूलो क्षेत्रफल भए एक भन्दा बढि नमुना लिनु पर्दछ तर एउटै नमुनाको लागी पनि जग्गाको सहि प्रतिनिधित्व हुनको लागी जति सक्दो धेरै ठाँउबाट उप–नमुनाहरु लिएर सबैलाई मिसाएर एउटा पूर्ण नमुना तयार पार्न सकिन्छ । कति वटा उप–नमुना लिने भन्ने कुरा जमिनको क्षेत्रफल र माटोको किसिममा भर पर्छ । कुनै एक प्रकारको जमिनबाट ५–१० वटा नमुना लिई मिसाउनु पर्दछ । यस्ता उप–नमुना लिंदा गराको एक छेउबाट सुरु गरी अंग्रजी “S”, “W”, “M” को आकारमा हिंडी नमुना लिनु पर्दछ । यसरी संकलन गरेको उप–नमुनालाई एकै ठाँउमा मिसाउने । माटोमा झारपात, ढुङ्गा, जराहरु भए हटाउने र डल्ला भए फोरेर मसिनो पार्नुपर्दछ । नमुनालाइ राम्रोसंग मिसाइसकेपछि त्यसलाई ४ भाग लगाउने र ४ भाग मध्ये आमुन्ने सामुन्नेका २ भागलाई हटाइ २ भाग बाँकी राख्ने । पुनः ती २ चौथाई राम्रोसंग मिसाउने र ४ भाग लगाउने र ४ भाग मध्ये आमुन्ने सामुन्ने २ भागलाई हटाई २ भाग मात्र राख्ने । यो क्रम आधा के.जि. सम्म नआउन्जेलसम्म दोहोर्याई राख्ने ।
माटोलाई आवश्यक नमुना तयार पार्ने विधि
नमुना कसरी तयार पार्ने ? यसरी तयार पारेको नमुनालाई यदि माटो बढि चिस्यान छ भने, छाँयामा सुकाएर राम्रोसंग प्लाष्टिक वा कपडाको थैलोमा बन्द गर्ने । कपडाभन्दा सकभर प्लाष्टिक नै प्रयोग गर्ने गर्नु सुरक्षित हुन्छ । बन्द गर्नुभन्दा अघि एक टुक्रा कागज वा प्लाष्टिक नमेटिने मसीले निम्न कुराहरु लेखेर मात्र बन्द गर्नु पर्दछ ।
कृषकको नाम :
ठेगाना ( गाउँपालिका वडा नं. र जिल्ला) :
नमुना लिएको मिति
जमिनको नाम र किसिम (खेत/बारी/खरबारी/बगैंचा) :
कुन बाली लगाइएको थियो ?
सिन्चीत / असिन्चित
कुन बाली लगाउने बिचार हो ?

कुन कुन मलखाद्य प्रयोग गरिएको थियो ?
यी सबै कुरा थैलोको बाहिरी सतहमा पनि लेख्न भुल्नु हुँदैन । साथै माटो नमुनासंग भर्नुपर्ने थप जानकारी (फर्मेट) भए सो पनि भरी पठाउनुपर्दछ । नमुना कहाँ र कसरी पठाउने ? तयार पारिएको नमुनालाई परीक्षण गर्ने/गराउने स्थानसम्म सुरक्षित तवरले पठाउनुपर्दछ । माटो परीक्षणको लागी माटो परिक्षण प्रयोगशालामा पठाउनु पर्दछ । परीक्षणको नतिजालाई कसरी प्रयोग गर्ने ? माटो परीक्षणपछि सोको नतिजा सम्बन्धित कृषक वा संघसंस्थालाई पठाउने गरिन्छ । यसमा खासगरी मुख्य खाद्यतत्वहरु –नाइट्रोजन, फस्फोरस र पोटास), पि.एच. र प्राङ्गारिक पदार्थहरुको विश्लेषण गर्नुपर्दछ । सो कुरा त नमुना संकलन गरेर पठाउने बेलामा नै जनाउनु पर्दछ । यसरी निर्धारित उद्देश्य अनुरुप विश्लेषण गराएर ल्याएको माटोको नतिजालाई सम्वन्धित प्राविधिकहरुलाई देखाई उनीहरुको सुझाब अनुसार कुन मल वा खाद्यतत्व प्रयोग गर्नुपर्ने हो सो गर्नुपर्दछ । त्यस्तै कुनै नयाँ बाली लगाउने उद्देश्यले माटो जाँच गरिउको भए सोको लागी माटो उपयुक्त भए नभएको जानकारी लिएर मात्र बाली लगाउने योजना गर्नुपर्दछ ।














प्रतिक्रिया दिनुहोस्