भूमे गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, चुनवाङले जितेको छ। वडा नं. ६ स्थित महत रङ्गशालामा सोमबार सम्पन्न फाइनल प्रतिस्पर्धामा १० स्वर्ण पदक जित्दै चुनवाङ च्याम्पियन बनेको हो।
कूल ९ माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगितामा चुनवाङले १० स्वर्ण, ५ रजत र ९ कांस्यसहित १९ पदक हात पार्यो। गाउँपालिकाका युवा, शिक्षा तथा खेलकुद शाखा अधिकृत टेकबहादुर बुढाथोकीका अनुसार ७ स्वर्ण, ४ रजत र ५ कांस्यसहित १६ पदक जितेर जनजागृति माध्यमिक विद्यालय महत दोस्रो भएको छ। यस्तै, ७ स्वर्ण, २ रजत र ४ कांस्यसहित १३ पदक प्राप्त गरेको जनशक्ति माध्यमिक विद्यालय काडाले तेस्रो स्थान हासिल गरेकाे हाे ।
माघ १५ देखि सुरु भएको प्रतियोगितामा छात्र तथा छात्रातर्फ भलिबल, कबड्डी र एथलेटिक्सका विभिन्न विधामा प्रतिस्पर्धा गराइएको थियो। एथलेटिक्स अन्तर्गत सटफुट, ज्याभ्लिङ थ्रो, त्रिपलजम्प, हाइजम्प तथा १०० देखि ३ हजार मिटरसम्मको दौडमा विद्यार्थीहरूले क्षमता प्रदर्शन गरेका थिए।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा मद्दत पुग्ने बताउनुभयो। “गाउँपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको छ,” उहाँले भन्नुभयो, यहाँबाट छनोट भएका खेलाडीलाई थप प्रशिक्षण दिएर जिल्ला र प्रदेश स्तरका लागि तयार पारिने छ।
कार्यक्रममा बोल्दै समाजसेवी चन्द्र रसाइलीले ग्रामीण क्षेत्रमा आयोजना हुने यस्ता प्रतियोगिताले गाउँका कुनाकाप्चामा रहेका प्रतिभालाई उजागर गर्ने अवसर दिएको बताउनुभयो। राज्यले खेलकुदलाई स्वास्थ्य र राष्ट्रको प्रतिष्ठासँग जोडेर हेर्नुपर्छ । विद्यार्थीहरूलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा प्रोत्साहन गर्न यस्ता कार्यक्रमले थप ऊर्जा प्रदान गर्ने रसाइली बताउनुभयो ।
विजेता विद्यालय तथा खेलाडीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। यो प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू अब जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने गाउँपालिकाले जनाएको छ।











प्रतिक्रिया दिनुहोस्