माघ २९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्था परिवर्तनको जग बसाल्ने रुकुमको धर्तीबाटै अब ‘समाजवादको क्रान्ति’ सुरु हुने बताएका छन् ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुकुम पूर्वबाट उम्मेदवारी दिनुभएका प्रचण्ड बिहीबार मध्यपहाडी लोकमार्ग हुँदै आफ्नो निर्वाचन क्षेत्र आईपुगेका हुन् । भूमे गाउँपालिका–१ लुगुममा आयोजित जनभेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले “जसरी हामीले यही भूमिबाट जनयुद्धको बलमा गणतन्त्र ल्यायौँ, अब यहीँबाटै समाजवादको नयाँ यात्रा तय गरिनेछ।”
चुनावी अभियानका क्रममा स्थानीय बासिन्दासँगको संवादमा प्रचण्डले आफू केवल पदका लागि मात्र रुकुम नआएको स्पष्ट पारेका छन् । “म एक थान सांसद बन्न यहाँ आएको होइन,” उनले भने । “शहीद र बेपत्ता परिवारका सपना पूरा गर्न र गणतन्त्रलाई संस्थागत गर्दै समाजवादको आधार तयार पार्न म फेरि आफ्नै घर (आधारभूमि) फर्किएको हुँ।”
कार्यक्रममा भूमे–१ का वडाध्यक्ष मनकाजी पुन, मावि लुगुमका प्रधानाध्यापक रामबहादुर पुन र शहीद परिवारका सदस्यहरूले गाउँको विकासका लागि विभिन्न योजनाहरू समेटिएको मागपत्र बुझाएका थिए। मागहरू सुन्दै प्रचण्डले
अधुरो रहेको शहीद मार्गलाई तत्काल पूर्णता दिने बताएका छन् ।
जनयुद्धका घाइते, बेपत्ता र शहीद परिवारका लागि विशेष कार्यक्रम ल्याउने र ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको लुगुम गाउँलाई ‘नमुना पर्यटकीय गाउँ’को रूपमा विकास गर्ने जाेड दिएका छन्।
लुगुमको विशिष्ट पहिचानका रूपमा रहेको झाँक्री संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने योजना प्रचण्डले अघि सार्नुभयो। जनजाति र दलित समुदायको बाहुल्यता रहेको यस क्षेत्रको कला–संस्कृतिलाई संरक्षण गर्दै आयआर्जनसँग जोड्ने प्रचण्डले प्रतिबद्धता गरेका छन् ।
नेकपा रुकुम पूर्वका जिल्ला संयोजक कुमारी बराल गौतमका अनुसार प्रचण्ड माघ २९ गतेदेखि फागुन ६ गतेसम्म जिल्लाका विभिन्न बस्तीहरूमा पुग्ने छन् । पुथा उत्तरगंगादेखि सिस्नेसम्मका मतदाताहरूसँग प्रत्यक्ष भेटघाट र चुनावी सभाहरूलाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ। जनयुद्ध कालमा सुरक्षित आश्रयस्थल रहेको रुकुमलाई अहिले प्रचण्डले आफ्नो ‘मुख्य राजनीतिक हेडक्वार्टर’ बनाउने रणनीति लिएको देखिन्छ।
प्रकाशित मिति : २०८२ माघ २९ गते बिहिवार















प्रतिक्रिया दिनुहोस्