२०८३ कार्तिक १२ गते बुधवार

जनयुद्धले ऐतिहासिक परिवर्तन र स्वतन्त्रता ल्याएको हो : प्रचण्ड



नेपाली कम्युनिस्ट पार्टी रुकुमपूर्वद्वारा आयोजित ३० औं जनयुद्ध दिवस कार्यक्रममा पार्टीका संयोजक तथा नेकपा रुकुमपूर्वका उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड)ले जनयुद्धले मुलुकमा ऐतिहासिक परिवर्तन र स्वतन्त्रता ल्याएको बताउनुभयो । आज शुक्रबार नेकपा रुकुमपूर्वले भूमे गाउँपालिका–२ खाबाङ बगरमा आयोजना ३० औँ जनयुद्ध कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै यस्तो बताउनुभयो ।

उहाँले जनयुद्धकै कारण देशमा राजनीतिक परिवर्तन सम्भव भएको उल्लेख गर्नु हुँदै क्रान्तिको भूमिबाट शान्तिको यात्रा सुरु भएको धारणा राख्नुभयो । प्रचण्डले भन्नुभयो, “यो वीरहरुको भूमि हो, इतिहास रचेको भूमि हो । दुधे बालक बोकेर व्यवस्था परिवर्तनका लागि लडेर आएको हालको परिवर्तन सामान्य होइन् । यो सबै जनयुद्धकै कारण सम्भव भएको हो ।”

प्रचण्डले जनयुद्धअघि महिलाको उपस्थिति राज्यका विभिन्न निकायमा न्यून रहेको स्मरण गर्दै अहिले तल्लो तहदेखि माथिल्लो तहसम्म महिलाको स्थान सुनिश्चित भएको दाबी गर्नुभयो । उहाँले अझै पनि एउटा क्रान्ति गर्ने आवश्यक रहेको बताउनु हुँदै अब उत्पादन क्रान्ति र भ्रष्टाचार विरुद्धको अभियान सञ्चालन गर्ने स्पष्ट पार्नुभयो ।

“क्रान्ति भएको भूमिमा अब उत्पादन क्रान्ति हुन्छ । भ्रष्टाचारविरुद्ध कडा संघर्ष हुन्छ,” उहाँले भन्नुभयो, “युुद्धकालमा रुकुमपूर्वले लगाएको ऋण तिर्न म यहाँ आएको छु । म केवल पार्टी नेतृत्वको हैसियतले मात्र होइन, तपाईँहरुको उम्मेदवार भएर आएको छु ।” त्यसकारण युद्धबाट परिवर्तन भएर आएको व्यवस्था अब अवस्था परिवर्तन गर्न आफू प्रतिवद्ध रहेको प्रचण्डले बताउनुभयो ।
उहाँले रुकुमपूर्वका ३१ वटै वडामा पक्की सडक निर्माण गर्ने प्रतिबद्धता जनाउँदै हिमाली जिल्लाको शिक्षा सुधार, जडीबुटी तथा खानी उत्खनन मार्फत रोजगारी सिर्जना गरिने योजना प्रस्तुत गर्नुभयो । मगर समुदायको आत्मसम्मान अभिवृद्धिका लागि विशेष कार्यक्रम ल्याइने पनि उहाँले बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकारमार्फत अर्गानिक जिल्लालाई थप कार्यक्रम सञ्चालन गरिने, रुकुमपूर्व अस्पतालमा २४ घण्टा विशेषज्ञ डाक्टरको व्यवस्था मिलाइने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । “बन्दुक बोकेर व्यवस्था परिवर्तन गरेको जिल्लाबाट अब शान्तिपूर्ण तरिकाले अवस्था बदल्नेछौं,” उहाँले भन्नुभयो, “क्रान्ति र शान्तिको भूमिबाट इतिहास सम्झेर देश र जनताका भविष्य निर्माण गर्नु छ । उपलब्धि जोगाउने कि उल्टाउने भन्ने निर्णय तपाईँहरुको मतले गर्छ ।”

अन्त्यमा उहाँले बहुमत दिए समाजवाद निर्माणको दिशामा अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै नयाँ भ्रम नभई वास्तविक परिवर्तनको पक्षमा मत दिन आह्वान गर्नुभयो ।

प्रकाशित मिति : २०८२ फाल्गुन १ गते शुक्रवार