२०८३ कार्तिक १२ गते बुधवार

रुकुमपूर्वका अस्पताल रित्त्याएर स्वास्थ्यकर्मी चुनावमा!



​रुकुमपूर्व । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका स्वास्थ्यकर्मीलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिइरहेका बेला रुकुमपूर्वमा भने जनस्वास्थ्यमाथि गम्भीर खेलबाड सुरु भएको छ। निर्वाचनका बेला हुन सक्ने सम्भावित झडप र आकस्मिक दुर्घटनालाई मध्यनजर गर्दै मन्त्रालयले स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन गरेको आग्रहलाई स्थानीय प्रशासनले ठाडै लत्याएको छ।

​
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले “स्वास्थ्यकर्मी चौबीसै घण्टा तयारी अवस्थामा रहनुपर्ने” भन्दै निर्वाचन आयोगलाई स्पष्ट पत्राचार गरिसकेका छन्। तर, रुकुमपूर्वमा भने ठिक उल्टो दृश्य देखिएको छ। यहाँको जिल्ला अस्पतालबाट मात्रै १३ जना स्वास्थ्यकर्मीलाई चुनावी ड्युटीमा खटाइएको छ। यो केवल तथ्याङ्क मात्र होइन, अस्पतालमा आउने बिरामीको उपचार पाउने अधिकारमाथिको धावा बनेकाे छ।

​सिनियर अनमी र प्राविधिक कर्मचारीकै भरमा निर्वाचन!

जिल्लाका तीनवटै गाउँपालिकाबाट ठूलो संख्यामा स्वास्थ्यकर्मीलाई चुनावमा परिचालन गरिएको छ, जसमा अधिकांश ‘सिनियर अनमी’ हरू छन्। मातृ-शिशु स्वास्थ्य र प्रसूति जस्तो संवेदनशील सेवामा खटिने दक्ष जनशक्तिलाई मतपेटिका कुर्न पठाएकाे हाे ।

चुनावको समयमा हुने तनाव र आकस्मिक स्वास्थ्य समस्याका बेला पहिलो घेरामा रहेर सेवा दिनुपर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरू नै मतदान केन्द्रमा कर्मचारीका रूपमा व्यस्त हुने भएपछि सर्वसाधारणमा त्रास फैलिएको छ। मन्त्रालयले “चौबीसै घण्टा तयारी अवस्था” मा रहन दिएको निर्देशन रुकुमपूर्वको सन्दर्भमा एकादेशको कथा बनेको छ।

​के रुकुमपूर्वमा कर्मचारीको यति नै अनिकाल लागेको हो कि स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई प्रशासनले खेलौना सम्झिएको हो ? मन्त्रालयको नीति एकातिर र फिल्डको कार्यान्वयन अर्कोतिर हुँदा उत्पन्न हुने दुर्घटनाको जवाफदेही को हुने ? यो गम्भीर प्रश्न खडा भएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन १२ गते मङ्गलवार