चैत ०५, हिमाली जिल्ला रुकुमपूर्वको सिस्ने गाउँपालिकाले दुर्गम बस्तीका नागरिकलाई लक्षित गर्दै वडा नम्बर ४ दादिङमा रर सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट ५ सयभन्दा बढी नागरिक लाभान्वित भएका छन्। गाउँपालिकाकाे केन्द्रसम्म पुग्न कठिनाइ हुने स्थानीयलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो।
वडा कार्यालय परिसरमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गरिएको शिविरमा स्वास्थ्य, कृषि, शिक्षा, रोजगार, सामाजिक सुरक्षा, पशुपन्छी तथा राजस्वसम्बन्धी सेवा एकीकृत रूपमा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
शिविरमा १४९ जना बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको छ। कृषि शाखामार्फत २०३ जना कृषकलाई तरकारीका बिउबिजन वितरण गरिएको छ भने १३६ वटा पशुपन्छीको उपचार तथा औषधि उपलब्ध गराइएको छ।
त्यस्तै, १८ जना ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको छ भने ४९ जनाको व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता गरिएको छ। शिविरकै क्रममा ७ जना हिंसा प्रभावितलाई परामर्श सेवा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारी दर्ता फाराम भर्न सहजीकरण गर्नुका साथै विभिन्न निर्माणाधीन आयोजना र विद्यालयहरूको स्थलगत अनुगमन पनि गरिएको थियो।
भौगोलिक विकटताका कारण सेवा केन्द्रसम्म पुग्न नसक्ने नागरिकलाई लक्षित गरेर घुम्ती शिविर सञ्चालन गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताए । यसले गाउँमै स्वास्थ्य कृषि, सामाजिक सुरक्षा लगायतका सेवा एकैपटक उपलब्ध गराएको छ। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै सेवा पहुँच अझ विस्तार गर्ने हाम्रो योजना छ।” अध्यक्ष रेग्मीले भने ।
यसैबीच, यही कार्यक्रमअन्तर्गत चैत ६ गते वडा नम्बर ३ मा पनि एकीकृत घुम्ती शिविर सञ्चालन गरिने भएको छ। गाउँपालिकाले आवश्यक कागजातसहित उपस्थित भई सेवा लिन सम्बन्धित वडावासीलाई आग्रह गरेको छ।











प्रतिक्रिया दिनुहोस्