२०८३ साउन १३ गते बुधवार

मध्यपहाडी लोकमार्ग अवरुद्ध, रुकुम पूर्वमा २५० बढी यात्रु अलपत्र



 

रुकुम पूर्वमा परेको अविरल हिमपातका कारण मध्यपहाडी लोकमार्गको एक महत्वपूर्ण खण्ड अवरुद्ध हुँदा सयौँ यात्रु बीच बाटोमै रोकिएका छन् । हिजो दिउँसो निरन्तर जारी हिमपातले भूमे गाउँपालिका –१ अन्तर्गत पर्ने लुकुम–पातिहाल्ना सडक खण्ड पूर्ण रूपमा बन्द भएको हो। सडक बन्द भएसँगै काठमाडौँबाट छुटेका रात्री बसहरू सहितका सवारीसाधन सो क्षेत्रमा अड्किएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार हालसम्म ७ वटा बस, एक जिप र ५ मोटरसाइकल हिमपातका कारण अघि बढ्न नसकी रोकिएका छन् । ती सवारीसाधनमा सवार २५० भन्दा बढी यात्रुहरू प्रतिकूल मौसमबीच अलपत्र परेका छन् ।

लगातार भइरहेको हिमपात र वर्षाका कारण सडक खुलाउने काममा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ। त्यसमाथि, सो क्षेत्रमा दूरसञ्चार सेवा समेत अवरुद्ध हुँदा उद्धार तथा समन्वयमा थप समस्या उत्पन्न भएको छ । प्रहरीले स्थानीय तहसँग सहकार्य गर्दै यात्रुहरूको उद्धारका लागि प्रयास भइरहेको जनाएको छ। मौसममा सुधार नआएसम्म पूर्ण रूपमा सडक सञ्चालनमा ल्याउन चुनौती रहने देखिएको छ।

प्रकाशित मिति : २०८२ चैत्र ७ गते शनिवार