गण्डकी र लुम्बिनी प्रदेशको संगमस्थल बागलुङ–रुकुमपूर्व सिमानामा पर्ने पातिहाल्ना क्षेत्रमा लगातार परेको हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन् ।
शुक्रबार दिउँसोदेखि सुरु भएको अविरल हिमपातका कारण भूमे गाउँपालिका–१ अन्तर्गतको लुकुम–पातिहाल्ना सडक खण्ड पूर्ण रूपमा बन्द भएको हो। सडक अवरुद्ध भएसँगै काठमाडौँबाट छुटेका रात्री बससहित ७ बस, एक जिप र करिब १० मोटरसाइकल सो क्षेत्रमा अड्किएका थिए ।
हिमपातका कारण शनिबार बिहान ५ बजेदेखि दिउँसो ४ बजेसम्म यात्रुहरू चिसो र भोकसँग जुध्दै खुला आकाशमुनि बस्न बाध्य भएका थिए। कठ्याङ्ग्रिने जाडो, बाक्लो हिउँ र अनिश्चितताबीच उनीहरू जोखिमपूर्ण अवस्थामा रहेका थिए।
यस्तै अवस्थामा भूमे गाउँपालिकाले तत्काल पहल गर्दै जेसीबी (डोजर) परिचालन गरी उद्धार कार्य अघि बढाएको हो। गाउँपालिकाका उपाध्यक्षका अनुसार सडक खुलाउने प्रयाससँगै सबै यात्रुलाई सुरक्षित स्थानमा सारिएको छ।
उपाध्यक्षले भने, “हिमपातले सडक पूर्ण रूपमा बन्द भएपछि यात्रुहरू अलपत्र परेका थिए। हामीले जेसीबी परिचालन गरेर उद्धार गर्यौं र सुरक्षित स्थानमा पुर्याएका छौं।”
पोखराबाट रुकुम पश्चिमको राडि जाँदै गरेकी यात्रु लक्ष्मी शाहीले अचानक परेको हिमपातले ठूलो सास्ती खेप्नुपरेको बताइन्। उनले भनिन्, “बस बीच बाटोमै रोकियो। धेरै समय चिसोमा बस्नुपर्यो, भोकै थियौं, निकै गाह्रो भयो।”
मुस्ताङबाट घर फर्किँदै गरेका महेश शाहीले पनि हिमपातका कारण यात्रा निकै कष्टकर बनेको बताए। “हिउँ धेरै पर्यो, अघि बढ्नै सकिएन। हिउँमा भिजेर बस्नुपर्यो, निकै गाह्रो भयो,” उनले भने।
लगातारको हिमपात र वर्षाका कारण सो क्षेत्रमा दूरसञ्चार सेवा समेत प्रभावित बनेको छ। मौसममा सुधार नआएसम्म पूर्ण रूपमा सडक सञ्चालनमा ल्याउन चुनौती रहने देखिएको छ।
रणनीतिक रूपमा महत्वपूर्ण मध्यपहाडी लोकमार्ग पटक–पटक अवरुद्ध हुने समस्याले यात्रु जोखिममा पर्ने क्रम बढ्दै गएको छ। दीर्घकालीन समाधानतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिएको छ।
















प्रतिक्रिया दिनुहोस्