लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वस्थित भूमे गाउँपालिकामा कर्मचारीहरूको कार्यशैलीमा असमानता देखिएको छ । नेपाल सरकारको नियमअनुसार सरकारी कार्यालयहरू बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनुपर्ने भए पनि यहाँ केही कर्मचारीले त्यसको पालना नगरेको पाइएको छ ।
शुक्रबारको ताजा अवस्थाले गाउँपालिकाभित्रको वास्तविकता छर्लङ्ग पारेको छ । केही कर्मचारी कार्यालयमा हाजिरी जनाएर समयअघि नै घर फर्किने हतारमा देखिएका छन् । कृषि सेवा केन्द्रका प्राविधिक सहायक (पाँचौँ) मोहनकुमार डाँगी, पूर्वाधार शाखाका वरिष्ठ खा.पा.स.टे. (पाँचौँ) प्रविर पुन र भौतिक तथा पूर्वाधार शाखाका अमिन इन्द्रबहादुर ओली कार्यालय समयमै घरतर्फ लागेको तथ्य खुलेको छ ।
यद्यपि, सबै कर्मचारीको कार्यशैली एउटै छैन । सोही दिन गाउँ कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत देवीलाल वि.क., भौतिक पूर्वाधार तथा वातावरण व्यवस्थापन शाखाका प्राविधिक अधिकृत (छैटौँ) चन्द्रप्रकाश ओली, सोही शाखाका सब–इन्जिनियर शिवकुमार ओली, स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक (छैटौँ) संजिव खड्का र राजकुमार बुढामगर भने फिल्डमै खटिएर सेवा प्रवाहमा सक्रिय देखिएका छन् । पशु सेवा शाखाका कर्मचारी गंग बुढाथापा दिनभर गाउँ–गाउँमा पुगेर पशु उपचारमा संलग्न रही राति ८ बजेपछि मात्रै गाउँपालिकाको केन्द्र फर्किएको तथ्य पनि छ ।
अन्य कर्मचारीहरू कार्यालयमै उपस्थित रहे पनि समग्रमा कर्मचारीबीच जिम्मेवारी निर्वाहमा स्पष्ट असन्तुलन देखिएको छ । एकातिर कार्यालय समयमै अनुपस्थित हुने प्रवृत्ति, अर्कोतर्फ सेवाग्राहीको घरदैलोमै पुगेर सेवा दिने। यी दुवै पक्षले भूमे गाउँपालिकाको सेवा प्रवाह प्रणालीलाई प्रश्न र अपेक्षा दुवै खडा गरेका छन् ।
स्थानीयवासीले कर्मचारी अनुशासनमा कडाइ र नियमित अनुगमन आवश्यक रहेको बताएका छन्। सेवा प्रवाहलाई प्रभावकारी बनाउन गाउँपालिकाले थप जिम्मेवार र उत्तरदायी कदम चाल्नुपर्ने देखिएको छ।











प्रतिक्रिया दिनुहोस्