नेपाल विद्युत प्राधिकरण रुकुमपूर्व वितरण केन्द्रले उपभोक्तामाथि अस्वाभाविक विद्युत् महसुल थोपरेको आरोप लागेको छ। सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिकामा केन्द्रीय लाइन प्रयोग गरिरहेका झन्डै ३ हजार ५ सयभन्दा बढी उपभोक्ता प्रभावित भएका छन्।
नियमित विद्युत् आपूर्ति नहुँदै अत्यधिक बिल आएको भन्दै उपभोक्ताहरू आक्रोशित बनेका छन्। भूमे गाउँपालिका–३ सिमाका दिपक पुनका अनुसार सामान्य घरायसी प्रयोगमा समेत उद्योगसरह महसुल थोपारिएको छ। “अघिल्लो महिनामा ६ सय रुपैयाँ हाराहारी बिल आउँथ्यो, यो महिना ३४ हजार रुपैयाँभन्दा बढी आयो,” उनले भने, “दुईवटा बत्ती मात्रै बालिने घरमा यस्तो बिल आउनु सरासर अन्याय हो।” उनले विद्युत् सेवा अनियमित हुँदा पनि उच्च शुल्क लिइनु ‘उपभोक्तामाथिको ठगी’ भएको बताए ।
साेही गाउँका जोगबहादुर पुनले पनि समान समस्या भोगेको बताए। “पहिले ६ सय रुपैयाँ पनि बिल आउँदैनथ्यो, यो महिना ३९ हजार ८ सय आयो,” उनले भने, “यो समस्या मेरो घरमा मात्रै होइन, गाउँभर फैलिएको छ।”
गाउँभर स्थानीयकाे गुनासो सुने पश्चात् स्थानीय समाजसेवी चन्द्र रसाइलीले प्राधिकरणको गम्भीर लापरबाहीका कारण नागरिक प्रत्यक्ष मारमा परेको बताए। “मिटर परीक्षण नगरी मनपरी बिल उठाइएको छ,” उनले भने, “गुनासो लिएर जाँदा समेत प्राधिकरणले बेवास्ता गर्दै ‘पछि हेर्छौं’ भन्ने जवाफ दिएको छ।” उनले भने ।
रुकुमपूर्व वितरण केन्द्रका प्रमुख ईश्वर प्रसाद श्रेष्ठले भने समस्या समाधान गर्ने दाबी गर्छन्। “उपभोक्तालाई दुःख दिने नियत होइन, प्राविधिक त्रुटि वा मिटर रिडिङमा समस्या भएको हुन सक्छ,” उनले भने, “गुनासो आएका स्थानमा प्राविधिक टोली खटाएर जाँच र सुधार गरिनेछ।”
दुर्गम जिल्लामा विद्युत् आपूर्ति नै अनियमित भइरहँदा अस्वाभाविक महसुल थोपर्ने घटनाले राज्यप्रतिको भरोसा कमजोर बनाएको छ। सरोकारवाला निकायले तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही नगरे उपभोक्ताको असन्तुष्टि थप चर्किने देखिएको छ।
















प्रतिक्रिया दिनुहोस्