२०८३ बैशाख ३ गते बिहिवार

भूमेमा टेलिकम सेवा अवरुद्ध, जनजीवन प्रभावित



रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिकाका विभिन्न बस्तीहरूमा नेपाल टेलिकमको मोबाइल सञ्जाल अवरुद्ध हुँदा स्थानीय जनजीवन प्रभावित भएको छ। हिजोदेखि सेवा ठप्प भएपछि झुम्लाबाङ, मोराबाङ, सिमा, जितखोला, खाबाङ, महतलगायतका गाउँहरू सूचना–सञ्चारबाट पूर्णतः विच्छेद भएका छन्।

मोबाइल सेवामा निर्भरता बढ्दै गएको अवस्थामा नेटवर्क अवरुद्ध हुँदा बैंकिङ सेवा, विद्यालयका गतिविधि, स्वास्थ्य सेवा तथा पालिकाका प्रशासनिक कामकाज प्रभावित बनेका छन्। डिजिटल माध्यमबाट हुने सेवा प्रवाहमा अवरोध आउँदा स्थानीय बासिन्दा दैनिक कामकाज सञ्चालन गर्न समेत कठिनाइमा परेका छन्।

नेपाल टेलिकमको रुकुमपूर्वस्थित कार्यालयले भने हालसम्म सेवा अवरुद्ध हुनुको कारणबारे कुनै औपचारिक जानकारी सार्वजनिक गरेको छैन। स्रोत अनुसार खराब विद्युत् आपूर्तिमा समस्या हो , वा टावरमा प्राविधिक खराबीका कारण सेवा प्रभावित भएको हुन सक्ने अनुमान गरिएको छ।

यसैबीच, नेटवर्क अवरुद्ध भएपछि स्थानीय समाजसेवी तथा युवा नेता चन्द्र रसाइलीले सामाजिक सञ्जालमार्फत ध्यानाकर्षण गराएका छन्। उनले भूमे–६ महतमा रहेको टेलिकम टावरको दीर्घकालीन व्यवस्थापन हुन नसकेको उल्लेख गर्दै स्थानीय विद्युत् अवरोधका कारण बारम्बार सेवा ठप्प हुने समस्या दोहोरिँदै आएको बताएका छन्। उक्त टावरसम्म केन्द्रीय प्रसारण लाइन विस्तार गर्न नसकिएकोप्रति उनले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।

रुकुमपूर्वका दुर्गम बस्तीहरूमा यसअघि पनि यस्ता समस्या दोहोरिने गरेको स्थानीयको गुनासो छ। सेवा अवरुद्ध हुँदा टेलिकमले ढिलाइ गरेर मात्रै समस्या समाधान गर्ने प्रवृत्तिले सेवाग्राही थप मारमा पर्ने गरेका छन्। स्थानीयवासीले तत्काल सेवा पुनः सञ्चालन गर्न तथा दीर्घकालीन समाधानको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रकाशित मिति : २०८२ चैत्र १७ गते मङ्गलवार