२०८३ बैशाख ५ गते शनिवार

विद्यालय कहिले खुल्छ ? भूमेमा शिक्षा प्रशासनमाथि सरकारका प्रवक्ता पुनको प्रश्न



वार्षिक परीक्षा सम्पन्न भई नतिजासमेत सार्वजनिक भइसकेपछि पनि जिल्लाभरका विद्यालय लामो समयसम्म बन्द रहनु शिक्षाको व्यवस्थापन पक्षमै कमजोरी भएको संकेतका रूपमा देखिएको छ। भूमे गाउँपालिका –२ का वडाध्यक्ष तथा गाउँपालिका सरकारका प्रवक्ता नारायण पुनमगरले यस विषयलाई सार्वजनिक रूपमा उठाउँदै शिक्षा प्रशासनको कार्यशैलीमाथि कडा प्रश्न गरेका छन् ।

पुनमगरले सामाजिक सञ्जालमार्फत शिक्षा शाखा, भूमे गाउँपालिका र शिक्षा विकास तथा समन्वय इकाई, रुकुमपूर्वलाई साङ्केतिक गर्दै लेखेका छन् । “परीक्षा सकियो, नतिजा पनि आयो, तर विद्यालय अझै खुलेका छैनन्। बिदा कहिलेसम्म हो ? परीक्षा सकिएपछि शिक्षकहरूको काम घर बिदा बस्ने हो कि नयाँ शैक्षिक सत्रको तयारी र भर्ना अभियानमा लाग्ने हो ?”

स्थानीय तहले शिक्षा व्यवस्थापनको जिम्मा पाएपछि विद्यालय सञ्चालन, शैक्षिक क्यालेन्डरको पालना, शिक्षक परिचालन र भर्ना अभियान प्रभावकारी बनाउने दायित्व हुनु पर्ने हो । तर, भूमे गाउँपालिकामा देखिएको अवस्था भने यसको ठीक विपरीत देखिएको छ ।

“बच्चाहरू घरमै छन्, कहिले विद्यालय खुल्छ भन्ने टुंगो छैन,” एक अभिभावकले गुनासो गरे, “यसले पढाइमा मात्रै होइन, बालबालिकाको अनुशासन र भविष्यमा समेत असर पार्छ।” नयाँ सत्र सुरु हुनु अघि नै अभिभावक र विद्यार्थी अन्य विकल्पतर्फ आकर्षित हुने जोखिम बढेको छ, जसले सामुदायिक विद्यालयप्रतिको विश्वास झनै कमजोर बनाउन सक्छ ।

 

जनप्रतिनिधिबाटै यस्तो गम्भीर प्रश्न उठ्नुले अब शिक्षा शाखा र सम्बन्धित निकायहरू मौन बस्न मिल्ने अवस्था छैन । विद्यालय कहिले खुल्ने, शिक्षकहरू कहिले तयारीमा फर्कने र भर्ना अभियान कहिलेदेखि सुरु हुने भन्ने स्पष्ट योजना सार्वजनिक गर्न ढिलाइ भए यसको प्रत्यक्ष असर अर्को शैक्षिक सत्रमा पनि देखिन सक्नेछ ।

प्रकाशित मिति : २०८३ बैशाख ३ गते बिहिवार