रुकुमपूर्व ।गत चैत २९ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र स्वास्थ्यमन्त्री खेम बहादुर सारुले तामझामका साथ रिबन काटेर उद्घाटन गरे ।
विकट र दुर्गम जिल्लाका नागरिक गुणस्तरीय स्वास्थ्य सेवाको आशामा अस्पतालतर्फ हेर्दै छन्। तर अस्पतालभित्र देखिएका गतिविधिले सेवा प्रवाहभन्दा बढी मनपरी, अपारदर्शी निर्णय र नेतृत्व संकट उजागर गरिरहेका छन्।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खराल माथि कार्यक्षेत्रभन्दा बाहिर गएर व्यवहार गर्ने, व्यवस्थापनभन्दा राजनीतिक गतिविधिमा सक्रिय हुने र जिम्मेवारीबाट पन्छिदै आउनुभएको छ । रुकुमपूर्व अस्पतालमा कतिपय स्वास्थ्यकर्मी अहोरात्र खटिएर सेवा दिइरहेका छन् । कुनै स्वास्थ्यकर्मी भने पत्रकार बनेर रिपोर्टिङ गर्नसम्म जानेका छन् ।
भित्ते लेखन मेटेर सुरु भएको विवाद
‘मिक नेपाल’ र ‘आईपास’ जस्ता संस्थाले नागरिक स्वास्थ्य सचेतनाका लागि अस्पताल परिसरमा तयार पारेको भित्ते लेखन चैत २८ गते रातारात मेटाइयो । ती लेखन स्वास्थ्य शिक्षा दृष्टिले उपयोगी र उत्कृष्ट थिए। तर ती संस्थाका लोगो मेटाइँदा छेउमै रहेका नेपाल जन जागरण मञ्चको लोगो भने यथावत् राखिनुले निर्णयमाथि गम्भीर शंका उब्जाएको छ।
डा. खरालले “लोगो ठूलो भएकाले र केही दबाबका कारण मेट्नुपरेको” दाबी गरे पनि सम्बन्धित संस्थाहरूले अस्वीकार गर्दै असन्तुष्टि पनि जनाए । पछि पुनः लोगो लेखिएको भए पनि विवाद अझै साम्य भएको छैन।
समीक्षा बैठकमै ‘गफ’ र प्रश्नबाट भाग्ने प्रवृत्ति
यसैबीच, जिल्ला समन्वय समिति रुकुमपूर्वले बैशाख ३ र ४ गते आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा पनि डा. खरालको प्रस्तुति विवादास्पद बन्यो । उनले वास्तविक समस्या र सेवा प्रवाहको अवस्थाबारे स्पष्ट विवरण दिनुको सट्टा कामभन्दा बढी ‘कागजी उपलब्धि’ र आकर्षक शब्दमा केन्द्रित प्रस्तुति दिएका थिए।
कार्यक्रमकै बीच अन्वेषण खबर डटकमले भित्ते लेखन मेटिएको विषयमा सोधेको प्रश्नमा भने उनले कुनै जवाफ नदिई फुत्त कार्यक्रम स्थलबाट बाहिरिए । सार्वजनिक सरोकारको विषयमा जिम्मेवार पदाधिकारीको यस्तो व्यवहारले थप प्रश्न खडा गरेको छ।
सरकारी साधन दुरुपयोगको
अस्पताल प्रशासनमाथि अर्को गम्भीर आरोप पनि थपिएको छ। डा. खरालले सरकारी गाडीसमेत राजनीतिक दलका गतिविधिसँग जोडिएका स्थानसम्म प्रयोग गर्ने गरेका छन्। यो सार्वजनिक सम्पत्तिको दुरुपयोग मात्र होइन, पदको दुरुपयोगको गम्भीर मुद्दा बन्न सक्छ।
सेवा भन्दा विवादमै केन्द्रित छन् , डा.खराल
स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र पेशागत अनुशासन अनिवार्य मानिन्छ। तर रुकुमपूर्व अस्पतालमा देखिएको पछिल्लो घटनाक्रमले उद्घाटनको तामझाम र वास्तविक सेवा व्यवस्थापनबीचको दूरी प्रस्ट पारेको छ।
गुणस्तरीय उपचारको अपेक्षामा रहेका नागरिकका लागि अस्पताल आशाको केन्द्र बन्नुपर्ने हो। तर यहाँ भने नेतृत्व विवाद, मनपरी निर्णय र गैरजिम्मेवार व्यवहारले विश्वासमाथि नै प्रश्न उठाइरहेको छ।
सम्बन्धित निकायले छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्ने र जिम्मेवार व्यक्तिलाई जवाफदेही बनाउने कि यस्तै प्रवृत्ति दोहोरिँदै जाने भन्ने प्रश्न स्थानीयस्तरमा तीव्र रूपमा उठ्न थालेको छ।











प्रतिक्रिया दिनुहोस्