रुकुम पूर्व ।भूमे गाउँपालिकामा दलित समुदायको संगठन सुदृढीकरण, सशक्तीकरण र नेतृत्व विकासलाई लक्षित गर्दै गाउँपालिका स्तरीय दलित सञ्जाल गठन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। खाबाङबगरमा आयोजित कार्यक्रममा सहभागीहरूले अधिकार, सामाजिक समावेशीकरण र स्थानीय तहमा प्रभावकारी सहभागिताका विषयमा प्रशिक्षण लिएका छन्।
गाउँपालिकाका अनुसार प्रशिक्षण सत्रहरू व्यवहारिक तथा अन्तरक्रियात्मक शैलीमा सञ्चालन गरिएका थिए। यसले सहभागीहरूलाई आफ्नै समुदायमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गरेको दाबी गरिएको छ। कार्यक्रममार्फत स्थानीय तहमा दलित समुदायको आवाज संस्थागत रूपमा बलियो बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रमकै क्रममा गठन गरिएको सञ्जालको अध्यक्षमा ओम प्रकाश वि.क. चयन भएका छन्। उपाध्यक्षमा नरेश छिनाल, सचिवमा आस्था वि.क., सहसचिवमा शिशिर सुनार र कोषाध्यक्षमा सिरकुमारी सुनार चयन भएका छन्। सदस्यहरूमा भागिपुरा वि.क., एलिना वि.क., सीता वि.क., मालबहादुर परियार, संकल्प परियार, कमल वि.क., बशन्त नेपाली, भारती नेपाली, सुवर्ण सुनार, कुमार वि.क., बिचक नेपाली, सन्तोष सेतिमहर र केशव वि.क. रहेका छन्।
समाजसेवी चन्द्र रसाइलीले कार्यक्रममा सिकाइलाई व्यवहारमा उतार्न आग्रह गरे। दलित अधिकारकर्मी लिला प्रसाद सुनारले नवगठित सञ्जालले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
प्रमुख जिल्ला अधिकारी सीता परियारले दलित समुदायको हकअधिकार सुनिश्चित गर्न यस्ता सञ्जालहरूको भूमिका महत्वपूर्ण हुने बताइन्।
प्रहरी निरीक्षक हेमबहादुर वि.क., प्रमुख प्रशासकीय अधिकृत देविलाल वि.क. र अधिवक्ता गणेश सिर्पालीले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए।
गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै दलित तथा सीमान्तकृत समुदायको अधिकार स्थापनामा विगतका आन्दोलनहरूको योगदान स्मरण गरे। उनले नवगठित सञ्जाललाई अधिकारको प्रयोग र संरक्षणमा सक्रिय हुन आग्रह गरे।
कार्यक्रममा जनप्रतिनिधि, सरोकारवाला निकाय, समुदायका प्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो।











प्रतिक्रिया दिनुहोस्