२०८३ साउन १२ गते मङ्गलवार

माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते



 

रुकुमपूर्व, असार १६ , रुकुमपूर्वको भूमे गाउँपालिका–६ महतस्थित कन्टीघाने (सिमखोला भित्री सडक खण्ड) मा गिट्टी–बालुवा निकाल्ने क्रममा माथिबाट माटोको ढिस्को खस्दा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। अर्का एक जना सामान्य घाइते भएका छन्।

मंगलबार साँझ करिब ५:३० बजे सडकको भित्ताबाट गिट्टी–बालुवा निकालिरहेका बेला एक्कासि माथिबाट माटोको ढिस्को खस्दा उनीहरू पुरिएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट महतबाट प्रहरी सहायक निरीक्षक तुल्सीराम चौधरीको कमाण्डमा ४ जना तथा इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षक हिमराज विकको कमाण्डमा ७ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल रुकुमपूर्व पठाइएको थियो।

प्रहरीका अनुसार भूमे गाउँपालिका–६ का करिब ५० वर्षीय दलखम्ब बुढाको उपचारका क्रममा मृत्यु भएको हो। सोही स्थानका करिब ५१ वर्षीय सम्पूर्ण बुढा गम्भीर घाइते भएका छन् भने ३० वर्षीय चिन्तामणि बुढा सामान्य घाइते रहेका छन्।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८३ असार १६ गते मङ्गलवार