रुकुमपूर्व, असार २२ । सार्वजनिक सम्पत्ति कसका लागि हो ? कार्यालयको कामका लागि कि कर्मचारीको पारिवारिक घुमघामका लागि ? रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको एउटा सरकारी मोटरसाइकल शनिबारको सार्वजनिक बिदामा रुकुमपूर्वको पर्यटकीय गन्तव्य चौरीखर्कमा देखिएपछि यही प्रश्नले चर्चा पाएको छ।
शनिबार असार २० गते चौरीखर्कमा हजारौं आन्तरिक पर्यटकको भीड थियो। त्यही भीडमा कर्णाली प्रदेश ०३–००१ ब ००८६ नम्बरको सरकारी मोटरसाइकल पनि पुग्यो । मोटरसाइकल चलाइरहेका थिए आठबिसकोट नगरपालिकाका जनस्वास्थ्य अधिकृत (सातौँ) तथा स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख प्रकाश केसीले उनी परिवारसहित घुम्न पुगेको थिए ।
यदि यो भ्रमण सरकारी कामका लागि थियो भने त्यसको अभिलेख कहाँ छ ? र यदि निजी पारिवारिक भ्रमणका लागि थियो भने सरकारी सवारी साधन किन प्रयोग गरियो ? यही प्रश्नको उत्तर खोज्न अन्वेषण खबरले सम्बन्धित निकायसँग सम्पर्क गरेको थियो।
रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले उक्त सरकारी मोटरसाइकलका लागि जिल्ला प्रशासन कार्यालयबाट कुनै किसिमको पास जारी नगरिएको बताए।
“हाम्रो कार्यालयबाट उक्त मोटरसाइकलका लागि कुनै पास जारी भएको छैन,” गौतमले अन्वेषण खबरसँगको टेलिफोन संवादमा स्पष्ट भने।
यसले अर्को प्रश्न जन्माएको छ । अन्तरजिल्ला आवागमनका लागि आवश्यक प्रशासनिक प्रक्रिया किन पूरा गरिएन ? यता आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतमले उक्त नम्बरको मोटरसाइकल नगरपालिकाकै भएको स्वीकार गरे। उनले मोटरसाइकल स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुखले लगेको जानकारी दिँदै यस विषयमा स्पष्टीकरण मागिसकेको बताए।
“मोटरसाइकल हाम्रो कार्यालयकै हो। मैले स्पष्टीकरण मागेको छु। मोटरसाइकल स्वास्थ्य शाखा प्रमुखले लैजानुभएको हो,” गौतमले भने। तर त्यसपछि उनले एउटा आग्रह पनि गरे । “समाचार नबनाइदिनुस् ।”
सार्वजनिक सम्पत्तिको सम्भावित दुरुपयोगबारे सञ्चारमाध्यमले उठाएको प्रश्नलाई समाचार नबनाउन आग्रह गर्नु आफैंमा पारदर्शिता र जवाफदेहितामाथिको अर्को प्रश्न बनेको छ ।
नियम के भन्छ ?
सरकारी सवारी साधन कार्यालयको कामका लागि हो, निजी सुविधाका लागि होइन । सरकारी सवारी सञ्चालनसम्बन्धी प्रचलित व्यवस्था, कर्मचारी आचारसंहिता तथा सार्वजनिक सम्पत्तिको संरक्षणसम्बन्धी कानुनी मर्मअनुसार सरकारी साधन स्वीकृत सरकारी प्रयोजनबाहेक निजी उपयोगमा लगाउन पाइँदैन ।
सार्वजनिक बिदाको दिन सरकारी सवारी सञ्चालन गर्नुपरे सम्बन्धित कार्यालय प्रमुखको पूर्वस्वीकृति आवश्यक मानिन्छ । आवश्यकता अनुसार अन्तरजिल्ला आवागमनका लागि पनि सम्बन्धित प्रशासनसँग समन्वय र आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने प्रशासनिक अभ्यास छ।
सरकारी मोटरसाइकल निजी पारिवारिक भ्रमणका लागि प्रयोग भएको पुष्टि भएको छ । सरकारी सम्पत्तिको दुरुपयोग, आर्थिक अनुशासन उल्लंघन र कर्मचारी आचारसंहिताको पालनाबारे गम्भीर प्रश्न पनि उठाएको छ।
सार्वजनिक पदसँग अधिकार मात्र हुँदैन, उत्तरदायित्व पनि जोडिएको हुन्छ । सरकारी नम्बर प्लेट बोकेको सवारी जहाँ पुग्छ, त्यहाँ राज्यको अनुहार पनि पुग्छ । त्यसैले यस्ता घटनामा सम्बन्धित निकाय मौन बस्ने वा “समाचार नबनाइदिनुस्” भन्ने बाटो रोज्ने होइन, तथ्य सार्वजनिक गरेर नागरिकलाई विश्वास दिलाउने दायित्व निर्वाह गर्नुपर्छ।
















प्रतिक्रिया दिनुहोस्