२०८३ साउन १२ गते मङ्गलवार

सडकमा केरा फलाउने सरकार !



रुकुमपूर्व । सदरमुकामको मुटुमै पर्ने बसपार्क जोड्ने सडक महिनौँदेखि खाल्डाखुल्डी, हिलो र पानीले भरिएको छ। तर जिम्मेवार निकायका लागि यो कुनै समस्या होइन, मानौं यही नै विकासको नयाँ मोडेल हो।

स्थानीयले सडक मर्मतको माग गर्दै पटक–पटक आवाज उठाए। तर सरकारी कानमा बतास लागेन। अन्ततः नागरिकले सडकको बीचमै केरा रोपेर यस्तो सन्देश दिए– ‘जब सरकार सडक बनाउन सक्दैन, कम्तीमा खेती त गर्न सकिन्छ।’

विडम्बना, जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकार र अन्य सरकारी कार्यालयबाट केही मिनेटको दूरीमा रहेको सडकको अवस्था यति दयनीय छ कि नागरिकले हिँड्ने सडक र धान रोप्ने खेत छुट्याउन गाह्रो पर्ने अवस्था बनेको छ। सरकारी गाडी भने सायरन बजाउँदै यही बाटो पार गर्छन्, तर सडकका खाल्डा उनीहरूलाई देखिँदैनन्।

विकासका ठूला भाषण, उद्घाटनका रिबन र सामाजिक सञ्जालका रंगीन तस्बिरहरूमा व्यस्त जनप्रतिनिधि र कर्मचारीका लागि सडकमा रोपिएको केराको बिरुवा एउटा गम्भीर प्रश्न हो— सदरमुकामकै मुख्य सडक बनाउन नसक्नेहरूले विकासको कुन कथा सुनाइरहेका छन्?

सडकमा उम्रिएको केरा कुनै कृषि अभियान होइन। यो राज्यको बेवास्ताविरुद्ध नागरिकले दिएको मौन तर तीखो जवाफ हो। अब पनि सम्बन्धित निकाय नजाग्ने हो भने सडकमा केरा मात्रै होइन, नागरिकको आक्रोश पनि अझै मौलाउने निश्चित छ।

प्रकाशित मिति : २०८३ साउन ६ गते बुधवार