२०८३ कार्तिक १२ गते बुधवार

राजस्वको लोभमा स्थानीयको रोजीरोटी खोसिँदै



 

पर्यटन विकासको नाममा स्थानीयको रोजीरोटी खोस्ने निर्णयलाई के विकासको नमुना भन्न सकिन्छ? सिस्ने गाउँपालिकाले कमलदह परिसर र शहीद स्मारक संग्रहालयको व्यवस्थापन ठेक्कामा दिने निर्णयसँगै उठेको यो प्रश्न सामान्य होइन, गम्भीर छ। किनभने यो निर्णयले वर्षौंदेखि कमलदहमा पर्यटकको फोटो खिच्दै आफ्नो परिवार पाल्दै आएका स्थानीय फोटोग्राफरको जीविकामाथि सीधा प्रहार गरेको छ ।

कुनै बेला सुनसान रहेको कमलदहलाई सामाजिक सञ्जालमार्फत देशभर चिनाउनेहरू सरकारी निकाय थिएनन्। बिहानदेखि साँझसम्म क्यामेरा बोकेर पर्यटकसँग मुस्कुराउँदै तस्वीर खिच्ने स्थानीय युवाहरू नै कमलदहका वास्तविक प्रचारक थिए । उनीहरूले आफ्नै सीप, मेहनत र लगानीबाट पर्यटनलाई गति दिए । तर अहिले पुरस्कार होइन, उनीहरूलाई पेशाबाटै विस्थापित गर्ने तयारी भइरहेको छ ।

गाउँपालिकाले प्रकाशन गरेको बोलपत्रले व्यावसायिक फोटोग्राफी, भिडियोग्राफी, ड्रोन सेवा, पोशाक भाडा, क्यान्टिन, पिकनिक स्थल व्यवस्थापनदेखि स्मारिका बिक्रीसम्मका अधिकार एउटै ठेकेदारलाई दिने व्यवस्था गरिएको देखिन्छ। यसको अर्थ स्पष्ट छ । अब स्थानीय फोटोग्राफर आफ्नै गाउँको पर्यटकीय क्षेत्रमा ग्राहक खोज्न पनि ठेकेदारको अनुमति चाहिने अवस्था सिर्जना हुनेछ।
स्थानीय सरकारको दायित्व राजस्व मात्र बढाउनु होइन, स्थानीयको जीवनस्तर उकास्नु पनि हो। यदि केही लाख रुपैयाँ राजस्वको लोभमा दर्जनौं परिवारको दैनिक आम्दानी बन्द गरिन्छ भने त्यो नीति विकास होइन।

झन् विडम्बना त के छ भने, कमलदहलाई आकर्षक गन्तव्य बनाउन सबैभन्दा ठूलो योगदान दिने समुदायसँग कुनै छलफल नगरी उनीहरूकै पेशामाथि बन्देज लगाउने नीति ल्याइएको छ। पर्यटनमा स्थानीय सहभागिता विश्वभर सफल मोडेल मानिन्छ। तर यहाँ भने स्थानीयलाई हटाएर ठेकेदारलाई केन्द्रमा राख्ने अभ्यास सुरु गरिएको छ।

प्रश्न उठ्छ ।पर्यटन स्थानीयका लागि हो कि सीमित ठेकेदारको नाफाका लागि ?

यदि स्थानीय युवाको क्यामेरा बन्द गराएर मात्र कमलदह व्यवस्थित हुन्छ भने त्यो व्यवस्थापन होइन, अधिकारको केन्द्रीकरण हो। स्थानीय सरकार जनताको अभिभावक हो, रोजगारी खोस्ने निकाय होइन।

सिस्ने गाउँपालिकाले यो निर्णय तत्काल पुनरावलोकन गर्नुपर्छ। स्थानीय फोटोग्राफरको पेशागत अधिकार सुनिश्चित गर्ने, उनीहरूलाई व्यवस्थापनको साझेदार बनाउने र पर्यटनको लाभ स्थानीय समुदायमै रहने नीति ल्याउनुपर्छ। अन्यथा, कमलदहमा खिचिने सुन्दर तस्वीरहरूका पछाडि दर्जनौं परिवारको आँसु लुकेको इतिहास लेखिनेछ।

कमलदहको सौन्दर्य जोगाउनु आवश्यक छ, तर त्यो सौन्दर्य जोगाउने नाममा स्थानीयको भविष्य अन्धकार बनाउने अधिकार कसैलाई छैन।

प्रकाशित मिति : २०८३ साउन १३ गते बुधवार