२०८३ साउन १६ गते शनिवार

रुकुमपूर्वमा नेकपा विवाद, नेतृत्वको दाबी र उपस्थितिलाई लिएर प्रश्न



साउन १६, रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुमपूर्वको जिल्ला एकता भेला सम्पन्न भएको भोलिपल्टै पार्टीभित्रको आन्तरिक मतभेद थप सतहमा आएको छ । जिल्ला कमिटी गठन, शपथग्रहण तथा त्यसपछिका गतिविधिलाई लिएर संस्थापन र असन्तुष्ट समूहबीच आरोप–प्रत्यारोप सुरु भएपछि पार्टीको संगठनात्मक अवस्थामाथि प्रश्न उठ्न थालेको हो।

भेलाले साविक नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेकपा (एमाले)बाट पार्टी प्रवेश गरेका नेता टोपबहादुर ओलीसहितको समूह तथा उपेन्द्रलाल कामीलगायतलाई समेट्दै २५५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको थियो। संस्थापन पक्षले यसलाई जिल्लामा पार्टी एकीकरणको महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेको छ।

तर असन्तुष्ट पक्षले भने घोषित कमिटीको आकार र शपथग्रहण कार्यक्रममा देखिएको उपस्थितिबीच ठूलो अन्तर रहेको दाबी गरेको छ । शपथग्रहण कार्यक्रममा करिब ३० देखि ३५ जना मात्र सहभागी भएका थिए ।

असन्तुष्ट समूहले प्रदेश कमिटीका लागि सिफारिस भएका केही व्यक्ति तथा प्रदेश कमिटीका सदस्यसमेत जिल्ला कमिटीको शपथग्रहणमा सहभागी भएको आरोप लगाउँदै त्यसलाई संगठनात्मक मापदण्डविपरीत भएको जनाएको छ। उनीहरूले यसले पार्टीभित्रको व्यवस्थापन र नेतृत्वको दाबीमाथि थप प्रश्न उठाएको बताएका छन्।

यता संस्थापन पक्षले भने आफूहरूसँग पार्टीको करिब ९० प्रतिशत संगठनात्मक समर्थन रहेको दाबी गर्दै आएको छ। तर असन्तुष्ट समूहले व्यवहारमा त्यो दाबी पुष्टि नभएको जिकिर गरेको छ।

पार्टी निकट स्रोतका अनुसार शुक्रबार बोलाइएको जिल्ला बैठकमा जिल्लाका तीनवटै गाउँपालिका कमिटीका अध्यक्ष सहभागी भएनन्। केन्द्र, प्रदेश र जिल्ला तहका केही नेतासमेत बैठकमा अनुपस्थित रहेको तथा धेरै वडाबाट प्रतिनिधिको उपस्थिति न्यून रहेको दाबी गरिएको छ । यद्यपि, यस विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक भएको छैन ।

पछिल्ला घटनाक्रमले पार्टीभित्र दुई धार स्पष्ट देखिएको छ । एकातर्फ लुम्बिनी प्रदेशका इन्चार्ज चक्रपानी खनाल बलदेव र तेजबहादुर ओली ‘प्रतिक’ नेतृत्वको संस्थापन समूह छ भने अर्कोतर्फ होमप्रकाश श्रेष्ठ ‘हिमाल’, जितमान पुन ‘मार्शल’, पुनिराज घर्ती ‘रामेश’, रवि बुढा ‘निर्माण’, मन्सराम खड्का ‘भिक्टर’, संगम रोका ‘विकल्प’ र दीपक पुन ‘राप्ति’लगायत नेताहरू आबद्ध समूह सक्रिय देखिएको छ ।

असन्तुष्ट पक्षले नेतृत्वले एकपक्षीय रूपमा बैठक सञ्चालन गरेको आरोप लगाएको छ । उनीहरूको दाबीअनुसार संगठनभित्रको असन्तुष्टि सम्बोधन नगरी अघि बढ्ने प्रयासले पार्टीभित्रको दूरी झन् बढाएको छ । संस्थापन पक्षले भने यी आरोप अस्वीकार गर्दै एकता प्रक्रिया क्रमिक रूपमा अगाडि बढिरहेको र देखिएका असन्तुष्टि संवादबाट समाधान हुने बताएको छ।

कम्युनिस्ट आन्दोलनको बलियो आधार मानिने रुकुमपूर्वमा देखिएको पछिल्लो विवादलाई स्थानीय राजनीतिक वृत्तले अर्थपूर्ण रूपमा हेरेको छ। संघीयता स्थापनापछि निरन्तर वामपन्थी दलको प्रभाव कायम रहेको यस जिल्लाबाट गत फागुन २१ गते सम्पन्न उपनिर्वाचनमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

यस्तो अवस्थामा जिल्ला संगठनभित्र देखिएको ध्रुवीकरण समयमै व्यवस्थापन हुन नसके त्यसको असर पार्टीको आन्तरिक एकता मात्र होइन, आगामी राजनीतिक गतिविधि र संगठन विस्तारमा समेत पर्न सक्ने आकलन गरिएको छ । यद्यपि, दुवै पक्षले सार्वजनिक रूपमा पार्टी फुटको अवस्था नरहेको र मतभेदलाई संगठनभित्रै समाधान गर्नुपर्ने बताएका छन्।

प्रकाशित मिति : २०८३ साउन १६ गते शनिवार