रुकुमपूर्व, साउन १६ । नवजात शिशुको स्वस्थ भविष्यको आधार मानिने स्तनपानको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले रुकुमपूर्वमा विश्व स्तनपान सप्ताह सुरु गरिएको छ । ‘दिगो जीवनको स्वास्थ्य सुरुवात प्रभावकारी स्तनपानका लागि सबैको साथ’ भन्ने मूल नारासहित रुकुमपूर्व अस्पतालमा शनिबार सप्ताहव्यापी कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको हो ।
कार्यक्रममा सुनौला हजार दिन भित्रकी आमा निशा बुढा मगरले रिवन काटेर विश्व स्तनपान सप्ताहको उद्घाटन गरेकी हुन् । सप्ताहभर स्तनपानको महत्त्व, सही अभ्यास र शिशु तथा आमाको स्वास्थ्यमा यसको भूमिकाबारे विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने अस्पतालले जनाएको छ।
रुकुमपूर्व अस्पतालकी सूचना अधिकारी विष्णुकुमारी पन्तका अनुसार स्तनपानले शिशुको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसको सही अभ्यासबारे समुदायस्तरसम्म सन्देश पुर्याउने उद्देश्यले सप्ताह मनाउन थालिएको हो।
‘स्तनपान शिशुको पहिलो खोप हो । जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्ने र पहिलो छ महिनासम्म आमाको दूध मात्रै खुवाउने अभ्यासलाई सबै परिवारले अपनाउन आवश्यक छ। यही सन्देश समुदायसम्म पुर्याउन सप्ताह आयोजना गरिएको हो।’
स्वास्थ्यकर्मीहरूले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न, पहिलो छ महिनासम्म आमाको दूध मात्रै खुवाउन तथा त्यसपछि थप पोषिलो आहारसँगै दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिन आग्रह गरेका छन्।















प्रतिक्रिया दिनुहोस्