२०८३ भाद्र १७ गते बुधवार

कमल फुलेसँगै पर्यटक तान्दै रुकुमपूर्वको कमलदह



साउन २३, रुकुमपूर्व । हरियाली पहाडले घेरिएको शान्त दह। पानीमाथि फक्रिएका गुलाबी कमल। वरिपरिको प्राकृतिक सुन्दरता। यतिबेला रुकुमपूर्वको कमलदह पुग्ने पर्यटकलाई यही दृश्यले लोभ्याइरहेको छ।

सिस्ने गाउँपालिका–५, रुकुमकोटमा रहेको कमलदहमा कमल फुल्ने मौसम सुरु भएसँगै पर्यटकको चहलपहल बढेको छ। स्थानीयसँगै जिल्लाबाहिरबाट आउनेहरू पनि कमलको फूल हेर्न, तस्बिर खिच्न र प्राकृतिक सौन्दर्यमा रमाउन कमलदह पुग्न थालेका छन्।

कमलका पातबीच फक्रिएका गुलाबी फूलले दहको सौन्दर्य थप मनमोहक बनाएको छ। दहमा देखिने फूल, पानीको प्रतिबिम्ब र वरिपरिको हरियालीले कमलदहलाई फोटो खिच्ने र घुमफिर गर्नेहरूका लागि आकर्षक गन्तव्य बनाएको छ।

पछिल्लो समय कमलदहका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा समेत चर्चामा आउन थालेपछि यसको परिचय जिल्लाबाहिरसम्म फैलिँदै गएको छ। कमल फुलेको समयमा यहाँ पुग्नेहरूको संख्या अझ बढ्ने गरेको स्थानीय बताउँछन्।

कमलदहको बढ्दो आकर्षणसँगै यसलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सम्भावना पनि देखिएको छ। दहसम्म सहज पहुँच, पैदलमार्ग, विश्रामस्थल, खानेपानी, शौचालय र फोहोर व्यवस्थापनजस्ता आधारभूत पूर्वाधार थप व्यवस्थित गर्न स्थानीय स्थानीय सक्रिय भएको स्थानीय मदन शाहले बताए ।

 

पर्यटक बढेसँगै दहको प्राकृतिक स्वरूप जोगाउनु पनि उत्तिकै चुनौतीपूर्ण छ। कमलका फूल तथा जलक्षेत्रको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न सके कमलदह स्थानीय आयआर्जन र रोजगारीको स्रोतसमेत बन्न सक्ने शाहले बताए ।

अहिले कमलदहमा फक्रिएका गुलाबी कमलले पर्यटक तानिरहेका छन्। प्रकृतिले दिएको यही सुन्दरतालाई संरक्षण र प्रचारसँग जोड्न सके कमलदह रुकुमपूर्वको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा अझ स्थापित हुन सक्ने स्थानीयको भनाइ छ।

प्रकाशित मिति : २०८३ साउन २३ गते शनिवार