साउन २६, रुकुमपूर्व । रुकुमपूर्वमा कस्तुरीको बिना सहित दुई जना पक्राउ परेका छन् ।
सिस्ने गाउँपालिका–६ खोपिचारस्थित मध्यपहाडी लोकमार्गमा मंगलबार साँझ प्रहरीले जाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोस्ट खोपिचारबाट प्रहरी नायब निरीक्षक जीवन केसीको कमाण्डमा खटिएको टोलीले रुकुमकोटबाट पश्चिम रुकुमतर्फ जाँदै गरेको रा ४ प ९७०० नम्बरको मोटरसाइकललाई शंकाका आधारमा रोकेर जाँच गरेको थियो ।
जाँचका क्रममा मोटरसाइकलको पछाडि सवार सिस्ने गाउँपालिका–१ पाखापानीका २५ वर्षीय टलक बुढाले बोकेको कलेजो रङको हाते झोलाभित्र प्लास्टिकमा राखिएको कस्तुरीको बिना फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद पदार्थको प्लास्टिकसहित तौल ३ ग्राम १६० मिलिग्राम र प्लास्टिक हटाउँदा शुद्ध तौल २ ग्राम ६४० मिलिग्राम रहेको छ ।
मोटरसाइकल चालक पश्चिम रुकुमको सानीभेरी गाउँपालिका–११ का ३८ वर्षीय मिलन केसी र बुढालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट प्रहरी निरीक्षक लालबहादुर विकको कमाण्डमा सात जनाको टोली घटनास्थल पुगेको थियो । टोलीले बरामद पदार्थको रीतपूर्वक बरामदी मुचुल्का तयार गरी दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय रुकुमपूर्वमा पठाएको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्