२०८३ कार्तिक १२ गते बुधवार

रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध, पहिरोमा ५० भन्दा बढी मोटरसाइकल अलपत्र



 

साउन २७ , रुकुमपूर्व । रुकुमपूर्वमा बुधबार साँझ परेको भारी वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । भूमे गाउँपालिका–४ स्थित काडाबगर र धौलापहिरोमा लेदोसहितको भल र पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

पहिरोका कारण सडकमा ५० भन्दा बढी मोटरसाइकल जाममा परेका छन् । सडक अवरुद्ध भएपछि यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।

सडक खुलाउन डोजरलगायतका उपकरण परिचालन गरी काम भइरहेको भए पनि लगातारको वर्षाका कारण पहिरो पन्छाउन कठिन भइरहेको रुकुमपूर्वकी प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिइन् ।

उनका अनुसार पहिरोमा अलपत्र परेका यात्रुको उद्धारका लागि समेत आवश्यक समन्वय र पहल अघि बढाइएको छ । वर्षा नरोकिए थप पहिरो खस्न सक्ने जोखिम रहेकाले सडकमा यात्रा गर्दा सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३ साउन २७ गते बुधवार