२०८३ भाद्र १७ गते बुधवार

रोल्पा थबाङ पहिरोमा बेपत्ता तीन जनाको खोजी कार्य जारी,१० जनाको मृत्यु,



 

सुर्य प्रकाश बुढा मगर

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारा पहिरोमा परेर बेपत्ता भएका तीन जनाको खोजी कार्य आज दोस्रो दिन पनि जारी रहेको छ । उक्त पहिरोमा परेर १० जनाको मृत्यु भएको पुष्टि भएको छ ।

रोल्पा प्रहरीका अनुसार दुई जना घाइते भएका छन् । बिहीबार साँझ सम्म मृतक सबैको सनाखत पनि भइसकेको छ । मृतकमध्ये ५ जनाको शव रोल्पाका विभिन्न ठाउँमा भेटिएको हो भने, ५ जनाको शव छिमेकी जिल्ला प्युठानका खोला किनारमा भेटिएका हो।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पामै शव भेटिएकामा १८ वर्षीया शान्ति पुनमगर, ६० वर्षीय कमलबहादुर पुनमगर, ७५ वर्षीय दलबहादुर पुनमगर, ८० वर्षीया मनखना पुनमगर र ८५ वर्षीया हस्तकला रोकामगर छन् । यस्तै, प्युठानमा भेटिएका शवमा ७ वर्षीय अशोक पुनमगर, ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीया मनी पुनमगर, ३४ वर्षीया विष्णु पुनमगर र ८० वर्षीय बलबहादुर पुन मगरका रहेको प्युठान प्रहरीले जनाएको छ ।

उनीहरूका आफन्तले शवको सनाखत गरेको प्रहरीले जनाएको छ । प्युठानका स्वर्गद्वारी नगरपालिकाका जुडापाटा, किमिचौर, गोठीबाङ, अर्दुस भन्ने ठाउँमा माडी खोलाको किनारमा चार वटा शव र स्वर्गद्वारी–५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा थप एक शव भेटिएको बताइएको थियो।

पहिरोमा परेर बेपत्ता हुनेमा ९ वर्षीय अशिम पुनमगर, ८० वर्षीय अजम्बर पुनमगर र ६१ वर्षीय लिलबहादुर पुनमगर छन् । तीन बेपत्ताको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक (डिएसपी) पञ्च कुमार बाखुले जानकारी दिए । “थबाङ र उवा प्रहरी टोलीले खोजी कार्य गरिरहेको छ,”डिएसपी बाखुले भने । पहिरोमा घाइते भएका २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगरलाई उपचारका लागि बिहीबार प्रादेशिक अस्पताल बुटवल पठाइएको बताइएको छ । पहिरोमा परेर ९  घर, एक घुम्ती पसल, दुई गोठ र एक चर्च गरी १३ वटा संरचना बगाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार राति ८:४० बजेको समयमा बस्तीमाथिबाट पहिरो आएको थियो । बेपत्ता भएका तीन जनाको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएका छन् । वर्षा लगातार भइरहेको कारण बेपत्ताको खोजी कार्य ढिलाइ भएको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले बताए ।

प्रकाशित मिति : २०८३ साउन २९ गते शुक्रवार