२०८३ कार्तिक ११ गते मङ्गलवार

कृषिमा क्रान्ति ल्याउदै चुनबाङ



रुकुमपूर्वको भूमे गाउँपालिका–९ चुनबाङका कृषक पछिल्लो समय नगदे बालीतर्फ लागेका छन् । विशेष गरी चुनबाङका कृषक लसुन खेती तर्फ धेरै आकर्षित हुनु भएको छ । यस ठाउँमा लसुन धेरै राम्रो उत्पादन हुने भएकोले यहाँका किसान लसुन खेती गर्दै नगद कमाउँदै गर्नु भएको छ । बजारमा लसुनको उच्च माग रहेको छ । जसले गर्दा किसानहरूलाई लाखौँ कमाउने अवसर प्राप्त भएको छ ।

हिमाली र दुर्गम जिल्ला भए पनि भूमे गाउँपालिका कृषि क्रान्तिमा अगाडि आफ्नै गतिमा बढ्दै छ । जसको ज्वलन्त उहादरण भूमे–९ स्थित चुनबाङका एक सय ७० घरधुरी कृषकले उत्पादन गरेको लसुन खेतीले देखाएको छ । भूमे गाउँपालिकाले उत्पादन वृद्धि गर्नका लागि बिउको अनुदान, मल, र सिंचाइका कार्यक्रम सञ्चालन गरिरहेको छ । गाउँपालिका भर कुन वडामा कस्तो खेती गर्दा उपयुक्त हुन्छ पकेट षेत्र घोषणा गरेर कृषिलाई अर्थतन्त्रमा परिवर्तनमा लागि परेको गाउँपालिले जनाएको छ ।

चुनबाङमा एक सय ७० जना कृषकले वार्षिक ९६ हजार ९ सय ८५ किलो हाराहारीको लसुन उत्पादन गरिराखेको भूमे गाउँपालिका कृषि शाखाका कृषि प्रसार अधिकृत स्वतन्त्रराज चौधरीले जानकारी दिनुभयो । उक्त लसुन बिक्रीबाट चुनबाङमा एक वर्षको अवधिमा १ करोड १६ लाख ३८ हजार दुई सय रुपियाँ आम्दानी भित्रीरहेको उहाँले बताउनुभयो । जसले गर्दा कृषकको मेहनत खेर नगएको र गाउँमै आम्दानीको स्रोत बनाइ राख्नु भएको चौधरीले बताउनुभयो ।

भूमे–९ का वडाध्यक्ष विनोद बुढा मगरले आफु निर्वाचित भए देखि कृषि खेतीलाई जोड दिएको बताउनुभयो । चुनबाङको दर्जनौ टोल बस्तीमा विगतको वर्ष भन्दा अहिले लसुन खेती गर्ने कृषकको सङख्या बढेको उहाँले बताउनुभयो । लसुन उत्पादनमा वडा आत्मनिर्भर हुन थालेको छ । आम्दानी धेरै हुन थालेपछि अहिले कृषकले अन्य बालीभन्दा लसुन खेतीमा किसान लसुन खेतीमा आकर्षित हुनुभएको छ । कृषकको यो उत्साह देखेर वडाले लसुनको बिउ निः शुल्क वितरण गरिएको छ । किसानले प्रति किलो १ सय १०–२५ रुपियाँ सम्ममा बिक्री गर्ने गरेका छन् ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुमपूर्वका कार्यालय प्रमुख डिल्लीराज पौडेलले  नेपालबाट लसुनको निर्यात सम्भावना उच्च रहेको बताउनुभयो । अर्गानिक जिल्ला रुकुमपूर्वमा किसानले माग अनुसारको लसुन उत्पादन गर्न सकेमा यहाँका नागरिक खाडी जानु पर्ने बाध्यता अन्त्य हुने अनुमान गरिएको पौडेलले बताउनुभयो । प्रमुख पौडेलका अनुसार लसुन खेतीले कृषिमा नयाँ सोच र व्यावसायिक रणनीति अपनाएको छ । प्रत्येक किसानले चाहने हो भने लसुन खेतीबाट गाउँमा नै सुन फलाउन सकिने उहाँको भनाइ रहेको छ ।

 

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रवार