२०८३ साउन १४ गते बिहिवार

रुकुमपूर्वमा ९९ मेट्रिकटन किवीले बजार पाएन



रुकुमपूर्वमा कृषकले परीक्षणका लागि लगाएको किवी फस्टाउँदै गएको छ । परीक्षणको लागि लगाइएको किवी फस्टाउँदै गएपछि हाल कृषक व्यवसायिक किवी खेतीतर्फ आकर्षित भएका छन् ।

तीन गाउँपालिका रहेको सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिकाको अधिकांश ठाउँमा किवी उत्पादन राम्रो देखिएको छ । कृषकले लगाएको किवी बारीमा लटरम्म फलेको छ । लटरम्म फलेका किवीले  बजार नपाउँदा कृषक दुःखी भएका छन् ।

भूमे गाउँपालिका–५ दालिबाङमा मोहनसिंह पुनले ३ वर्ष पहिले मकै खेती मासेर किवी खेती तर्फ लाग्नु भएको हो । पुनले ठुला शहरी बजारमा किवीको माग राम्रो देखेपछि आफ्नै १५ रोपनी जग्गामा  व्यवसायिक किवी खेती गरेको बताउनुभयो । विभिन्न पुस्तक तथा युटुबमा किवी खेंती गर्ने तरिका तथा प्रविधिको बारेमा अध्ययन गर्नु भएको थियो । उहाँले भन्नुभयो, “धैरे स्थानमा पुगेर किवी फर्मको पनि अवलोकन गरेर परीक्षणको रुपमा सुरुको वर्षमा लगाएको बोटले राम्रै फल दिन थालेपछि करिब १० लाख लगानीमा किवी खेती गर्नेमा लागियो तर, उत्पादन राम्रो भइरहेको छ, बिक्री हुँदैन् ।”

१५ रोपनी जग्गामा लगाएको उत्पादन भएको किवीले बजार नपाउँदा नोक्सानी व्यहोर्नु परिराखेको उहाँको भनाइ रहेको छ । गत वर्षको भन्दा यस वर्या दोब्बर बढी किवी उत्पादन भएको छ । तर बिक्री गर्न समस्या भएको पुनले बताउनुभयो । बजार अभाव र मूल्य नपाउँदा सारै दुःखी हुनु परेको पुनले सुनाउनुभयो ।

रुकुमपूर्वमा सानो बजार र उत्पादन धेरै भएपछि किवी बिक्री गर्न समस्या भएको भूमे गाउँपालिका–५ का अर्का कृषक मिनबहादुर बुढाले बताउनुभयो । बुढाले भन्नुभयो, “रुकुमपूर्वका बजारमा किवी बिक्री हुँदैन् पोखरा, काठमाण्डौँ लैजान कठिनाइ छ यो कृषकका समस्या सरोकारवाला निकायले पहल नै गरिदिनु हुन् ।”

यस जिल्लामा १४ हेक्टर क्षेत्रफलमा किवी लगाइएको एकीकृत पशुपन्क्षी विकास कार्यालय रुकुमपूर्वका प्रमुख डिल्लीराज पौडेलले जानकारी दिनुभयो । प्रमुख पौडेलका अनुसार उक्त क्षेत्रफलमा लगाइएको किवी ९९ मेट्रिकटन उत्पादन भएको छ । उत्पादन भएको कृषि उपजले बजार नपाउँदा आफूहरु पनि दुःखी भएको पौडेलले बताउनुभयो । उत्पादन कृषि उपज बिक्रीका लागि स्वयम कृषकले नै ग्राहक खोज्नु पर्ने उहाँको भनाइ रहेको छ । यद्यपि कृषि कार्यालयले अन्य जिल्लाका बजारसँग यहाँका उत्पादित कृषि उपज खरिद, बिक्रीका लागि सहजिकरण गर्ने पौडेलले जानकारी दिनुभयो ।

किवीको मूल्य प्रति किलो २ सय रुपियाँ रहेको छ । सिस्ने गाउँपालिकामा २ हेक्टर, भूमेमा ५ र पुथाउत्तरगंगा गाउँपालिकामा ३ हेक्टर जमिनमा किवी उत्पादन भइरहेको छ ।

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रवार