२०८३ साउन १३ गते बुधवार

विकासको काममा खेलबाड नगरौँ



विकास देशको मेरुदण्ड हो।आर्थिक उन्नति, जनताको जीवनस्तर सुधार, र आधुनिक पूर्वाधारको निर्माणका लागि राज्यले गर्ने विकास निर्माण कार्य अत्यन्त महत्वपूर्ण हुन्छ।तर, विडम्बना के छ भने, नेपालमा विकास निर्माणका कामहरूमा कर्मचारी तथा कार्यन्वयन निकायको बेवास्ता, ठेकेदारहरूको लापरवाही, अनियमितता, र ढिलासुस्ती व्यापक देखिन्छ।हरेक वर्षको बजेटमा ठूलो रकम पूर्वाधार विकासका लागि छुट्याइन्छ, तर कार्यान्वयन तहमा पुग्दा ती योजनाहरू प्रभावकारी रूपमा सम्पन्न हुँदैनन्।कतिपय आयोजना तोकिएको समयमा सम्पन्न नहुनुका पछाडि भ्रस्टाचार, गैरजिम्मेवारीपन, र व्यवस्थापकीय कमजोरी प्रमुख कारण रहेका छन्।धेरैजसो ठूला परियोजनाहरू समयमै पूरा नहुने, गुणस्तरीय काम नहुने, र पटक–पटक अतिरिक्त बजेट थप्दै लम्बिइरहने प्रवृत्तिले देशलाई आर्थिक रूपमा ठूलो क्षति पुर्‍याइरहेको छ।

विकास निर्माणमा हुने यस्तो खेलबाड तत्काल रोक्न आवश्यक छ।ठेकेदारहरूको गैरजिम्मेवारीपूर्ण कार्यशैलीलाई कडाइका साथ नियन्त्रण गर्न, पारदर्शिता कायम राख्न, तथा समयमै काम सम्पन्न गर्ने सुनिश्चितता दिन सरकारले प्रभावकारी नीति ल्याउनु जरुरी छ।सार्वजनिक परियोजनाहरूको प्रभावकारी निगरानीका लागि नागरिक समाज, सञ्चारमाध्यम, र सरोकारवाला निकायहरूलाई पनि सचेत र सक्रिय बनाउनुपर्छ।

खास गरी प्रदेश र सङ्घीय सरकार मातहतको जिल्ला स्थित कार्यालयको काम निकै ढिलासुस्ती भइरहेको नागरिकको गुनासो छ।जिल्ला स्थित विकासे कार्यालयले समयमै कामलाई अघि बढाउन नसक्दा विकास निर्माणमा असर देखिएको छ।समयमा काम नहुँदा न दिगोविकास हुन्छ।समयमै विकास नहुँदा सरकारको लगानी पनि खेर गइरहेको छ।सहि ठाउँमा, ठिक समयमा विकास नहुँदा विकासको काम गतिविहिन भइरहेको अवस्था छ।दु:खद कुरा जिल्लाको जलस्रोत तथा सिंचाइ सवडिभिजन कार्यालय रुकुमपूर्वले यश आर्थिक वर्षको नयाँ योजना अहिले सम्म पनि कुनै काम सुरु गर्न सकेको छैन।समयमै काम सुरु नहुँदा कस्तो खालको विकास होला ? त्यसैले उक्त कार्यालयका कर्मचारीले जिम्मेवारपूर्ण रुपले समयमै काम सुरु गरिनु पर्छ।

समयमै पूरा नहुने आयोजना, गुणस्तरहीन काम, र दोहोरिने आर्थिक अनियमितताले देशको विकास अवरुद्ध हुन्छ।तसर्थ, अब विकासको नाममा भइरहेको अनियमितता अन्त्य गर्दै इमानदार र पारदर्शी प्रणाली लागू गरिनुपर्छ।जनताले विकासको वास्तविक लाभ लिन पाउने वातावरण सिर्जना गरौँ, विकास निर्माणमा खेलबाड नगरौँ।

प्रकाशित मिति : २०८१ फाल्गुन ४ गते आइतवार