२०८३ साउन १३ गते बुधवार

गुरु सडकमा, गोरु सरकारमा



आजको नेपालमा एउटा गम्भीर र लज्जास्पद दृश्य प्रस्तुत भइरहेको छ — शिक्षकहरू, प्राध्यापकहरू, लेखक, चिन्तक र विचारकहरू सडकमा छन्। अर्कोतर्फ, राज्यसत्ता बखम्फुसेहरूको कब्जामा छ। गम्भीर विषयमा गम्भीर सोच्नेहरूको आवाज थिचिएको छ, र गम्भीर निर्णय लिने ठाउँमा गम्भीरता हराएको छ।

सरकार आफैंले सिर्जना गरेका समस्या समाधान गर्न नसक्ने अवस्थामा पुगेको छ। शिक्षकहरूले शान्तिपूर्ण ढंगमा आफ्ना माग राखिरहेका छन्, तर तिनको आवाज सुन्ने ठाउँ सत्तामा छैन। विडम्बना, जुन देशका विद्यालयहरूले प्रधानमन्त्रीहरू जन्माएका थिए, आज त्यही शिक्षा प्रणाली र त्यसलाई ढोका-ढोका पु¥याउने शिक्षकहरू उपेक्षित छन्।

नेपालको इतिहासमा शासन सधैं शोषणसँग जोडिएको देखिन्छ। दैत्य शासनदेखि दरबार र दरबारबाट जनताको प्रतिरोधसम्म — बुद्धिजीवी सधैं उत्पीडनको शिकार भए, तर अन्ततः विजयी पनि उनै भए। यो हामीले इतिहासका पानामा पढेका छौं — शासन अस्थायी हुन्छ, विचार स्थायी।

बुद्धिजीवी आन्दोलन कहिल्यै बन्दुकको भरमा चलेको थिएन। न त विचारशीलता र सिर्जनशीलता हिंसाको बाटो रोज्छ। आन्दोलनले परिवर्तन गर्छ, तर दीर्घकालीन समाधान सिर्जना गर्न बुद्धि आवश्यक हुन्छ। आजका सत्ताधारीहरूले यो बुझ्न नसक्नु, देशको दुर्भाग्य हो।

यदि सरकार साँच्चै शान्ति र संवादको पक्षमा हुन्थ्यो भने सडकमा उभिएका ती शिक्षकमाथि लाठी प्रहार गर्ने थिएन। बरु उनीहरूलाई वार्ताका लागि आमन्त्रित गर्ने थियो। तर यहाँ सत्ता गैरजिम्मेवारहरूका हातमा पुगेको छ, जसले आफ्नो हैसियतलाई अहंकारको कवच बनाएका छन्। उनीहरूलाई न त शिक्षा मन पर्छ, न विचार, न श्रमको सम्मान।

शिक्षक सडकमा छन् — यो केवल एक आन्दोलन होइन, यो चेतनाको सङ्घर्ष हो। यो नयाँ युगको दरबारी राजनीति विरुद्धको विद्रोह हो, जहाँ ज्ञानको मूल्य छैन र मूर्खताको मूल्यांकन हुन्छ।

अन्ततः प्रश्न उठ्छ — बुद्धिजीवी सडकमा हुनुपर्ने देश कसरी समृद्ध बन्छ? मूर्खहरूको गोठ बनेको सिंहदरबारले कसरी नीति बनाउँछ?

प्रकाशित मिति : २०८२ बैशाख १२ गते शुक्रवार