रुकुमपूर्वको कमलदहले फेरि एक निर्दोष बालिकाको ज्यान लिएको छ। पुथा उत्तरगंगा–९ खाराबाङकी ८ वर्षीया शाहासी रोका अब फर्केर आउने छैनन्। तर उनको मृत्युपछि पनि पुरानै प्रश्न फेरि उठेको छ । आखिर कमलदहमा दुर्घटना दोहोरिरहँदा जिम्मेवार निकायहरू किन सुध्रिँदैनन् ?
हरेक वर्ष लाखौं रुपैयाँ खर्च गरेर कमलदहको पर्यटन प्रवर्द्धन गरिन्छ। भाषणमा यसलाई रुकुमपूर्वको गहना भनिन्छ। फोटो खिचिन्छ, भिडियो बनाइन्छ, महोत्सव गरिन्छ। तर पर्यटकको सुरक्षाका लागि के छ ? न प्रशिक्षित उद्धार टोली, न लाइफ ज्याकेट, न उद्धार डुङ्गा, न नियमित सुरक्षा निगरानी।
घटना भएपछि भने सबै सक्रिय देखिन्छन्। प्रहरी घटनास्थल पुग्छ, अस्पताल पुर्याउँछ, मुचुल्का उठाउँछ, अनुसन्धान गर्छ। तर दुर्घटना हुनुअघि सुरक्षा व्यवस्था मिलाउने जिम्मा कसको हो ?
नेपाल प्रहरीको काम अपराध नियन्त्रण र प्रारम्भिक उद्धार हो। तर विपद् व्यवस्थापन त बहुनिकायको जिम्मेवारी हो। जिल्लामा रहेका अन्य सुरक्षा निकाय, स्थानीय विपद् व्यवस्थापन समिति, गाउँपालिका, जिल्ला प्रशासन र पर्यटनसँग सम्बन्धित निकायहरू आखिर के हेरेर बसेका छन् ?
कमलदहमा यो पहिलो घटना होइन। विगतमा पनि डुबेर मृत्यु भएका घटना भएका छन्। त्यसैले यो दुर्घटना मात्र नभई पूर्वानुमान गर्न सकिने जोखिम हो। जोखिम थाहा हुँदाहुँदै पनि सुरक्षा तयारी नगर्नु लापरबाही होइन भने के हो ?
अचम्म त के छ भने, दुर्घटनापछि श्रद्धाञ्जली दिनेहरू धेरै भेटिन्छन्, तर दुर्घटना रोक्न पहल गर्नेहरू भेटिँदैनन्। सामाजिक सञ्जालमा दुःख व्यक्त गरेर जिम्मेवारी पूरा हुँदैन। ज्यान जोगिने वातावरण बनाउनु नै वास्तविक श्रद्धाञ्जली हो।
कमलदहलाई पर्यटकीय गन्तव्य बनाउने हो भने त्यहाँ स्थायी सुरक्षा पोस्ट किन छैन ? उद्धार सामग्री किन छैन ? पानीको गहिराइ र जोखिमबारे स्पष्ट चेतावनी बोर्ड किन छैन ? वर्षेनी हजारौं मानिस पुग्ने ठाउँमा एउटा व्यवस्थित सुरक्षा योजना किन बन्न सकेको छैन ?
राज्यका निकायहरू दुर्घटनापछि मात्रै जाग्ने हो भने त्यसलाई तयारी होइन, असफलता भनिन्छ। कमलदहमा हरेक पटक दुर्घटना हुँदा एउटै दृश्य दोहोरिन्छ।पहिले मृत्यु, त्यसपछि उद्धारको चर्चा, अनि केही दिनपछि सबै मौन।
शाहासी रोकाको मृत्युले फेरि एउटा कठोर प्रश्न छोडेको छ। कमलदहमा अर्को शव ननिस्किएसम्म जिम्मेवार निकायहरू फेरि निदाएकै बस्ने हुन् कि अब साँच्चै जाग्ने हुन् ?
















प्रतिक्रिया दिनुहोस्