२०८३ साउन १५ गते शुक्रवार

जीवन र मरणको दोसाँधमा स्वास्थ्यकर्मीको समर्पणमा बाँचे आमा छोरी



रुकुमपूर्व । दुर्गम र विकट भेग रुकुम पूर्वको भूमे गाउँपालिका–१ लुकुमकी ४५ वर्षीया रामजनी पुनले स्वास्थ्य संस्थामा पुग्न नपाउँदै बाटोमै सुत्केरी भइन्।बुधबार बिहान सबेरै सुत्केरी व्यथा लागेपछि उनलाई लुकुमको आधारभूत स्वास्थ्य केन्द्रबाट काँक्री स्वास्थ्य चौकीमा रिफर गरिएको थियो।तर रामजनीलाई स्वास्थ्य संस्थासम्मको यात्रा सहज थिएन।

लुम्बिनी प्रदेशकै एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा यातायातको पहुँच नहुँदा सवारी साधन प्रयोग गर्न सकिने अवस्था जिल्लाको दर्जनौ गाउँ बस्तीहरु रहेका छन्।अझैसम्म गाउँमा स्ट्रेचरमा बोकेर बिरामी बोक्नु पर्ने बाध्यता छ।तर रामजनी भने मध्य पहाडी लोगमार्गको छेउमा घर भएको कारण भूमे – २  काँक्रीको स्वास्थ्य केन्द्रमा पुर्‍याउन तीन पाङग्रे अटो रिक्सामा लैजाँदै गर्दा बिच बाटोमा नै अत्यधिक पीडा सुरु भयो।

उता काँक्री स्वास्थ्य चौकीमा सन्देश पुग्नेबित्तिकै लुकुम आधारभूत स्वास्थ्य केन्द्रकी अनमी किरण पुन र काँक्री स्वास्थ्य चौकीकी सि. अनमी लिलासार बुढा तुरुन्तै घटनास्थल पुगेको बताउनुभयो।अनमी लिलासारको अनुसार त्यो क्षण एकातिर सुत्केरी पीडामा छटपटाइरहेकी आमा, अर्कातिर बाटोमा रामजनी र उनकी नवजात शिशुको जीवन गुम्ने थियो तर अथाह कोसिस पश्चात् आमा छोरीको स्वास्थ्य खतरा उत्पन्न भने नभएको लिलासारले बताउनुभयो।

दुई स्वास्थ्यकर्मीहरू न थाकिन्, न हच्किइन्।स्वास्थ्य संस्थाभन्दा टाढा, साधनरहित परिस्थितिमा पनि उनीहरूले रामजनीको सुत्केरी गराइन् र शिशुको सुरक्षित जन्म सुनिश्चित गरिन्।काँक्री स्वास्थ्य चौकीका प्रमुख तिलक रोका मगरका अनुसार, समयमै हामीलाई थाहा नभएको भए आमा र नवजात शिशु दुवैको ज्यान जोखिममा पर्ने सम्भावना प्रबल थियो।स्वास्थ्यकर्मीहरूको तत्परताले दुई जीवन बचाईयो,” रोकाले खुसी हुदैँ भन्नुभयो।

यातायातको अभाव र समयमै नपुग्ने एम्बुलेन्स, दक्ष जनशक्तिको कमी र भौगोलिक कठिनाइका कारण अझैपनि महिलाहरूले सडक र बीचमा सुत्केरी हुने बाध्यता भोगिरहेका छन्।स्वास्थ्यकर्मीहरूको समर्पणले आज दुई जीवन बचाउन सफल भए पनि, यस प्रकारका जोखिम र पीडा दोहोरिरहँदा स्थानीयवासी र स्वास्थ्यकर्मी दुवैले सरकार र सरोकारवालासँग आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८२ बैशाख ३१ गते बुधवार