रुकुम पूर्व,- नेपाल जनजागरण मञ्च रुकुम पूर्वको आयोजनामा सञ्चालित सामुदायिक रूपान्तरण परियोजना र अपाङ्गता पुनःस्थापना परियोजनाको साझेदारीमा जिल्लाका पत्रकारहरूलाई लक्षित गरी मानसिक स्वास्थ्य र शारीरिक अपाङ्गता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।
शुक्रबार रुकुम पूर्वको सदरमुकाममा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न सञ्चार संस्थामा आवद्ध पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको उद्देश्य पत्रकारहरूलाई मानसिक स्वास्थ्य र अपाङ्गता जस्ता संवेदनशील विषयमा सशक्त बनाउँदै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न उत्प्रेरित गर्नु रहेको आयोजक संस्थाले जनाएको छ।
कार्यक्रमका मुख्य प्रशिक्षक मनोविद् रुकुम टमटाले आत्महत्यासम्बन्धी विविध पक्षमा जानकारीमूलक सत्र सञ्चालन गर्नुभयो। आत्महत्याको परिभाषा, सम्भावित कारणहरू, पूर्वसंकेत, जोखिम समूह, मानसिक स्वास्थ्यको महत्व, तथा नेपाल र अन्तर्राष्ट्रिय सन्दर्भमा आत्महत्याको अवस्थाबारे चर्चा गर्दै उहाँले समयमै पहिचान र रोकथामका उपायहरूमाथि प्रकाश पार्नुभयो।
त्यसैगरी, अपाङ्गता पुनःस्थापना परियोजनाको सत्रमा प्रशिक्षक निदान बुढाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर अभिवृद्धिका लागि आवश्यक कानुनी व्यवस्था, सामाजिक समावेशीकरण, पहुँचयुक्त सेवा-सुविधा, अपाङ्गता पहिचान र मूल्यांकनका प्रक्रिया तथा पुनःस्थापनाका रणनीतिहरूबारे जानकारी दिनुभयो।
कार्यक्रमको समापन सत्रमा नेपाल पत्रकार महासंघ रुकुम पूर्वका अध्यक्ष बसन्त बाठा मगरले सञ्चारकर्मीहरूलाई मानसिक स्वास्थ्य र अपाङ्गता जस्ता गम्भीर विषयहरूमा जनचेतना अभिवृद्धिका लागि जिम्मेवार भूमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नुभयो। यस्ता कार्यक्रमले पत्रकारहरूको दक्षता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले आयोजक संस्थालाई धन्यवाद दिनुभयो।
कार्यक्रममा सहभागी पत्रकारहरूले यस्तो अन्तरक्रिया कार्यक्रमले आफूहरूमा नयाँ दृष्टिकोण, ज्ञान र उत्तरदायित्वको भावना जागृत गराएको अनुभव व्यक्त गरेका छन्।।















प्रतिक्रिया दिनुहोस्