रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ८, चारगाउँमा पनि अघिल्ला वर्षहरूभन्दा यस वर्ष भूमे पर्वको निकै रौनक देखिएको छ। सबैभन्दा बढी ठकुरी समुदायको बस्तीका रूपमा चिनिने पुथाउत्तरगंगा गाउँपालिका–८, चारगाउँमा भूमे पर्व यस वर्ष निकै उत्साहपूर्वक मनाइएको छ।
विशेष गरी मगर समुदायको पुर्ख्यौली पर्वका रूपमा मनाउँदै आएको भूमे पर्व यस वर्ष भने समग्र रूपमा मनाइएको छ। ९७ प्रतिशत ठकुरी समुदाय भएको क्षेत्रमा भूमे पर्वलाई सबैले संरक्षण गर्नुपर्छ भन्दै मनाउन थालिएको स्थानीय युवा उज्ज्वल सेनले बताए। यस्ता पर्वहरूले आपसी भाइचारा बढाउनुका साथै सबै समुदायलाई समेट्दै लैजान्छन् भन्ने उद्देश्यले भूमे पर्वलाई मगर समुदायको मात्र नभई समग्र रूपमा मनाइएको उनले बताए।
स्थानीय मगर समुदायका अगुवा नामेन्द्र रोका मगरले पुथाउत्तरगंगा–८ मा मगर समुदाय कम भए तापनि मगर संस्कृति निकै महत्वपूर्ण भएको बताए। पुर्ख्यौली पर्वलाई जीवित राख्न मगर समुदाय मात्र नभई यस वर्ष ठकुरी समुदायले पनि साथ दिएको उल्लेख गर्दै “आगामी दिनमा यस्ता खालका पुर्ख्यौली पर्वलाई जीवित राख्न सधैं अग्रसर हुनुपर्छ,” भन्ने धारणा राखे।
यसैबीच पुथाउत्तरगंगा गाउँपालिकाका संस्थापक उपाध्यक्ष ओमकुमारी शाही ठकुरीले भूमे पर्व १८ मगरातहरूको मात्र नभई रुकुम पूर्वलाई चिनाउने एक इतिहास भएकोले यस पर्वलाई संरक्षण गर्दै जानु पर्नेमा जोड दिइन्। सबैभन्दा बढी ठकुरी समुदायको बस्ती रहेको चारगाउँबाट नै यसको संरक्षणको सुरुआत गर्नु आवश्यक रहेको उल्लेख गर्दै यस कार्यको थालनीमा चारगाउँका नागरिकहरूको उल्लेख्य चासो रहेको पनि उनले बताइन्।
रुकुम पूर्वकै सबैभन्दा बढी ठकुरी समुदाय भएको क्षेत्र पुथाउत्तरगंगा गाउँपालिका–८, चारगाउँ मानिन्छ। त्यहाँ हालसम्मको तथ्याङ्कअनुसार ९७ प्रतिशत ठकुरी समुदायको बसोबास रहेको छ भने ०.०५ प्रतिशत मात्र मगर समुदाय बसोबास रहेको छ।













प्रतिक्रिया दिनुहोस्