२०८३ साउन १७ गते आइतवार

स्वच्छ उत्पादन र विषादी न्यूनीकरणमा कृषकको सहभागिता सुनिश्चित गर्न सिस्नेमार्फत अभिमुखीकरण कार्यक्रम सम्पन्न



रुकुम पूर्व — स्वच्छ उत्पादन र विषादी न्यूनीकरणमा कृषकहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न रुकुम पूर्वको सिस्ने गाउँपालिका–८ स्थित सानोभेरी माध्यमिक विद्यालयमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

स्वास्थ्य कार्यालय रुकुम पूर्वको आयोजनामा तथा एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा कृषकहरूलाई रासायनिक विषादीको सट्टा जैविक प्रविधि अपनाउन प्रेरित गरिएको थियो।

कार्यक्रमका प्रमुख प्रशिक्षक तथा एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वका प्रमुख डिल्लीराज पौडेलले विषादीरहित कृषि प्रणालीको महत्वबारे प्रकाश पार्दै सिस्ने–८ मा सुन्तला खेतीको उच्च सम्भावना रहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “गाउँबाट युवाहरू पलायन भइरहेका छन्, तर अबको भविष्य कृषिमा छ। हामीले कृषि व्यवसायलाई व्यावसायिक रूपमा अघि बढाउनुपर्छ।” उहाँले जिल्लालाई अर्गानिक बनाउने अभियानमा सबैको सहभागिता आवश्यक रहेको पनि उल्लेख गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघ बहादुर श्रेष्ठले कृषकहरू अझै पनि मिश्रित खेती र रासायनिक मलप्रति आकर्षित रहेको भन्दै जैविक विधि अपनाउनु आजको आवश्यकता भएको बताउनुभयो। उहाँले चेतावनी दिँदै भन्नुभयो, “कृषिमा विषादीको प्रयोग रोकिएन भने हामीले आफ्ना सन्ततिका लागि बिग्रिएको वातावरण छोड्नेछौं। त्यसैले आजैदेखि सचेत हुनुपर्छ।”

कार्यक्रम समापन गर्दै स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पुस्कल श्रेष्ठले स्वास्थ्यभन्दा ठूलो अरु केही नभएको उल्लेख गर्नुभयो। उहाँले पछिल्लो समय विभिन्न विषादी प्रयोग गरिएका खाद्य वस्तुको अत्यधिक सेवन, स्वादको पछि लागेर जथाभावी खानपान, र सरसफाइको बेवास्ताले गर्दा क्यान्सरका बिरामीहरू बढ्दै गएको बताउनुभयो।

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पुस्कल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जीवन कुमार खड्का, उद्योग वाणिज्य संघ रुकुम पूर्वका अध्यक्ष केबेन्द्र गौतम, नेपाल पत्रकार महासंघका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन अनुप पौडेलले गर्नुभएको थियो।।

प्रकाशित मिति : २०८२ असार ४ गते बुधवार