२०८३ कार्तिक १२ गते बुधवार

जिल्ला अस्पताल रुकुम पूर्वमा खरालले निमित्त मेडिकल सुपरिटेन्डेन्टको रूपमा पदभार ग्रहण



रुकुमपूर्व – जिल्ला अस्पताल रुकुम पूर्वको निमित्त मेडिकल सुपरिटेन्डेन्टको रूपमा कृष्ण खरालले आज पदभार ग्रहण गर्नुभएको छ। रुकुम पूर्वको सदरमुकाम रुकुमकोटस्थित जिल्ला अस्पतालमा आयोजित कार्यक्रममा उहाँले औपचारिक रूपमा कार्यभार सम्हाल्नुभएको हो।

पदभार ग्रहण समारोहमा बोल्दै निमित्त मेडिकल सुपरिटेन्डेन्ट खरालले अस्पताललाई अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह हुने गरी अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जिल्लामा अझै नपुगेका स्वास्थ्य सेवा तथा कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै योजनाबद्ध रूपमा कार्यान्वयन गरिने बताउनुभयो।

” कर्मचारी व्यवस्थापन, सेवा विस्तार र भौतिक पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै अस्पतालको समग्र सेवा सुधारमा ध्यान केन्द्रित गरिनेछ,” उहाँले भन्नुभयो। साथै, अस्पतालको नयाँ एम्बुलेन्स शीघ्र सञ्चालनमा ल्याइने जानकारी दिँदै, दुर्गम तथा पछाडि परेका क्षेत्रका बिरामीहरूलाई सहज सेवा पुर्‍याउने दिशामा काम अघि बढाइने बताउनुभयो।

उहाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो। हाल उहाँलाई जिल्ला अस्पताल रुकुम पूर्वको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको हो।

कार्यक्रममा अस्पताल सञ्चालक समिति रुकुम पूर्वका अध्यक्ष लोकेन्द्र शाहले नयाँ निमित्त प्रमुखलाई अघिल्ला नेतृत्वले थालेका राम्रा कामलाई निरन्तरता दिँदै अझ प्रभावकारी सेवा दिने आशा गरेका बताउनुभयो ।

उहाँले अस्पतालमा एम्बुलेन्स सेवा छिट्टै सुचारु हुने जानकारी दिँदै, सबैलाई समेट्ने ढंगले स्वास्थ्य सेवा सञ्चालन गरिने विश्वास व्यक्त गर्नुभयो। आजबाटै सेवा प्रवाहमा जोशका साथ जुट्नुहुनेछ भन्ने अपेक्षा लिएका छौ।अध्यक्ष शाहले भन्नुभयो।

यस अघि रुकुम पूर्व जिल्ला अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डाक्टर जितेन्द्रराज कोइराला हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २०८२ असार ५ गते बिहिवार